चितवन, जेठ २०–
लोक क्षेत्रका गायक तथा सर्जकहरुले लोक गीतको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, चितवन शाखाको स्थापना दिवस तथा ११ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बौल्दै प्रमुख अतिथि प्रतिष्ठान केन्द्रका संस्थापक एवंम संरक्षक अमर विरही गुरुङले नेपालको संस्कृतीसंग जोडिएको लोक गायन क्षेत्रलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान समयमा विभिन्न खालका गीतसंगीतहरु बजारमा आउने गरेको भन्दै लोक भाकाको आफ्नै महत्व भएकाले यसलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा लाग्ने कलाकारलाई संगठित गर्दै लोकगीतको संरक्षण र प्रवद्र्धन गर्न प्रतिष्ठान गठन गरिएको भन्दै यसको महिमालाई जोगाईराख्न युवा पुस्ता सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठान चितवन शाखाका संस्थापक अध्यक्ष शान्त पियाले धेरै दुःख र मेहनतले यहाँसम्म संस्थालाई ल्याइएको भन्दै संस्थाको गरिमालाई मन दिन नहुने बताउनुभयो । उहाँले संस्थालाई अघि बढाउन युवा पुस्ताहरु अघि सर्नुपर्ने भन्दै कला सँस्कृतिको संरक्षणमा युवा पुस्ताको चासो आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका सल्लाहकार चिजकुमार मास्के, गायक उपेन्द्र देवकोटा ‘गोरखाली’लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा प्रतिष्ठान चितवन शाखाका संस्थापक शान्त पियाको जन्म दिन समेत मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथिलगायतले केक काटेर संस्थापक पियाको जन्मोत्सव मनाएका थिए । उपस्थित सबैले जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा आर्थिक तथा वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा कालिका नगरपालिकाको वडा सदस्यमा निर्वाचित संस्थाका एक सदस्यलाई सम्मान समेत गरिएको थियो । संस्थाले लोकदोहोरी क्षेत्रमा लागेका कलाकारहरुको हकहितमा काम गर्दै आईरहेको छ ।
कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष अश्वीन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।