माडी, वैशाख २५ गते ।
नेपाली कांग्रेसका तर्फबाट माडी नगरपालिकाका मेयरका उम्मेदवार खेमप्रसाद महतोले माडीको पर्यावरणलाई प्रदूषण नपु¥याउने गरी निश्चित क्षेत्रलाई औद्योगिक ग्रामको रुपमा विकास गर्न पहल गर्ने बताए । साना तथा मझौला उद्योग स्थापनामा लागि प्रोत्साहन गरिने बताएका छन् । स्थानीय स्रोत, श्रम तथा साधनको प्रयोग गरी माडीलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्ने योजना ल्याइने बताएका छन् ।
माडी २ भैरवपुरमा आयोजित चुनावी कोणसभामा बोल्दै उनले नीजि क्षेत्रको लगानी सुरक्षाको उचित व्यवस्था गर्ने नीति बनाइने बताए । माडीमा आफ्नो कार्याकालमा जडिबुटी उत्पादन एवम् प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाए । बैक तथा वित्तिय संस्था, सहकारीको प्रवद्र्धन गरिने बताए । कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएकी शिवमाया भट्टराईले हिंसा पीडित महिलालाई लक्षित गरि माडीमा सुरक्षित आवास केन्द्रको स्थापना गर्ने बताइन् ।
उनले महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध कडाई सहितको कानुन बनाउन पहल गर्ने बताइन् । एकल महिलाको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन आर्थिक कार्यक्रम तथा तालिमको व्यवस्था गरिने बताइन् । दलित विद्यार्थीको लागि कलेज निशुल्क अध्ययन गर्न पाउने व्यवस्था मिलाइने बताइन् । जेष्ठ नागरिकको निशुल्क औषधोपचारको व्यवस्था गरिने बताइन् । माडीका हरेक वडामा वृद्ध सत्संग तथा मनोरञ्जन केन्द्र स्थापना गरिने बताइन् । कांग्रेस महासमिति सदस्य सविता बरालले ५ वर्षभित्र एक घर एक रोजगारको व्यवस्था कार्यान्वयन गरिने बताइन् । प्रमाणपत्र वा युवा समूहको आधारमा युवालाई पूँजीको व्यवस्था गरी स्वरोजगार एवम् आत्मनिर्भर बनाउन कांग्रेस नेतृत्वका उम्मेदवारलाई जिताउन अनुरोध गरिन् । सोमबार माडीको नयाँपर्सा, भैरवपुर, वैराठ, बघौडा, रतनी लगायतका क्षेत्रमा मेयर, उपमेयर सहितका उम्मेदवारहरु घरदैलो अभियानमा पुगेका छन् ।
