बैशाख २२, २०७४ काठमाडौं: जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण गर्ने भनिएको काठमाडौं -नागढुङ्गा सुरुङमार्ग निर्माण तत्काल सुरु गरिने प्रतिवद्धता जाइकाले जनाएको छ। एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५० औं बैठकमा भाग लिन जापान गएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र जाइकाका उच्च अधिकारीबीच भेटवार्तामा जाइकाले तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाएको हो। महरासँगको भेटमा जाइकाका कार्यकारी वरिष्ठ उपाध्यक्ष कोसीकावा काजुहीको नेतृत्वको टोलीले नागढुङ्गा–काठमाडौं सुरुङमार्ग निर्माण प्रक्रियामा भएको प्रगतिप्रति प्रसन्नता प्रकट गर्दै निर्माणका काम तत्काल प्रारम्भ गर्ने प्रतिवद्धता जनाएको हो। जाइकाले नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जाइकाका अधिकारीहरुले तीनवटै तहका निर्वाचनमा नेपाललाई सहयोग गर्ने तत्परता व्यक्त गरेको जनाएका छन्। भेटमा उपप्रधानमन्त्री महराले लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै नेपाललाई आर्थिक विकासको मार्गमा द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। नेपालको पूर्वाधार विकास र भूकम्पपछिको पुनः निर्माणमा जापानले गरेको सहयोगप्रति महराले आभार व्यक्त गरे।
जाइकाका दक्षिण एसिया निर्देशक ताकेयुची ताकुरो सहितको टोलीसँगको भेटवार्तामा आफूले द्विपक्षीय विकास सहयोग, जाइकाको सहयोगमा जारी पुनःनिर्माणका काम, ऊर्जा विकास, सामाजिक सुधार, आर्थिक उन्नयनबारे छलफल गरेको उपप्रधानमन्त्री महराले बताए। ‘पूर्वाधार विकास, यातायात, काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको व्यवस्थापन तथा आमपरिवहन, विद्यालय क्षेत्र सुधार कार्यक्रम, स्वास्थ्यलगायत आपसी हित र चासोको विषयमा सो टोलीसँग छलफल भएको छ’ महराले भने। भेटमा जाइकाका कार्यकारी वरिष्ठ उपाध्यक्ष काजुहीकोले नेपालमा शान्ति र समृद्धि कायम भई विकासको बाटोमा अग्रसर हुन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उपप्रधानमन्त्री महराले बताए। अर्थसचिव शान्तराज सुवेदी, अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याललगायत जापानमा रहेका छन्।
श्रोत ः थाहा खवर