बैशाख २३, २०७४ स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरूका लागि ६ बुँदे निर्देशिका जारी गरेको छ। पत्रकारहरूको सुरक्षालाई ध्यानमा राखेर निर्देशिका जारी गरेको महासंघले जनाएको छ। जिल्लास्थित पत्रकारसँग सम्बद्ध विभिन्न पेशागत संगठनका प्रमुखहरूको सुझावको आधारमा जारी गरिएको निर्देशिकामा पत्रकारहरूलाई कुनै पनि पार्टीको परिचय झल्किने पोशाक, चिह्न, झण्डा लगायत सांकेतिक चिह्न प्रयोग नगर्न भनिएको छ। अाफ्नो सवारी साधनमा पार्टीका झण्डा, चुनाव चिह्नका स्टिकरको प्रयोग नगर्न, स्थायी प्रकृतिको प्रेस नलेख्न, सामाजिक सञ्जालमा कुनै पनि पार्टीका चिह्न राखेर मत नमाग्न र अमर्यादित टिकाटिप्पणी नगर्न पनि सञ्चारकर्मीसँग अाग्रह गरिएको छ। समाचार संकलनका लागि जाँदा आफ्नो परिचयपत्र साथमै राख्न र कुनै समस्या परे शाखाले स्थापना गरेको ‘हेल्प डेक्स’मा खबर गर्न आग्रह गरिएको छ। शाखाका अध्यक्ष राधेश्याम खतिवडाले आजैदेखि लागू हुने गरी जारी गरिएको ६ बुँदे निर्देशिका पूर्ण रूपमा पालना गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरे।