चैत १०,काठमाण्डौ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लकडाउन’ लाई लिएर आफ्ना नागरिक गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्नुस् ।’
लॉकडाउन को अभी भी कई लोग गंभीरता से नहीं ले रहे हैं। कृपया करके अपने आप को बचाएं, अपने परिवार को बचाएं, निर्देशों का गंभीरता से पालन करें। राज्य सरकारों से मेरा अनुरोध है कि वो नियमों और कानूनों का पालन करवाएं।
साथै प्रधानमन्त्री मोदीले नियम र कानुन कार्यान्वयन गराउन राज्य सरकारसँग अनुरोध गरेका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय १५ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ ।
कोरोना भाइरसको सङ्कटसँग लड्न २२ वटा राज्यको ७५ वटा जिल्लामा लकडाउन गरिएको छ । जसका कारण भारतको महानगरीय क्षेत्र सुनसान देखिएको छ ।
दिल्लीमा पनि सोमबार बिहान ६ बजेदेखि आउँदो मार्च ३१ तारिखको राति १० बजेसम्म लकडाउनको घोषणा गरिएको छ । यो अवधिमा आवश्यक चीज बाहेक अन्य सबै बजार, पसल र उद्योग बन्द रहनेछन् ।
अहिलेसम्म एक सय ८६ देशमा फैलिसकेको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख तीस हजारभन्दा बढी छ । १४ हजार ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने झण्डै ९८ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।