१० बैशाख, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रचण्ढ पुत्रीलाई पनि मैदानमा उत्रार्ने तयारी गरेको छ । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाललाई उम्मेदवार बनाउन पार्टीभित्रबाट सिफारिस भैसकेको छ । तर, अन्तिम निर्णय हुन वाँकी छ ।
माओवादीको चितवन जिल्ला, भरतपुर नगरपालिका कमिटी र प्रदेश नम्बर–३ ले रेणुको नाम मेयरमा सिफारिस गरेको हो । रेणुको नाम मेयरमा सिफारिस भए पनि अन्तिम निर्णय भने नभएको माओवादीका एक नेताले बताए । उनका अनुसार कुनै नाटकीय खेल नभए रेणु उम्मेद्वार बन्नेछिन् । अहिलेसम्म कुनै पार्टीले महानगरपालिकाको मेयरका लागि महिला सिफारिस गरेका छैनन् । महानगरको मेयरको टिकट केन्द्रीय कार्यालयले दिने भएकाले १५ गतेसम्ममा त्यसबारे निर्णय हुने माअोवादीले जनाएको छ । १६ गते उम्मेद्वारको मनोनय गर्ने कार्यतालिका छ ।