बर्दिवासमा एमालेको २ नम्बर प्रदेशको भेला
चैत १७, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको मुख्य कार्यभार छाडेर नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रले संविधान संशोधन हुन्छ भनेर हौवा फैलाई वेमौसमी बाजा बजाइरहेको टिप्पणी गरेका छन्। वेमौसमी बाजाको विरुद्ध नेकपा एमाले सगरमाथा जस्तै दृढ भएर उभिएको नेता खनालले बताए । नेकपा एमालेको बुधबारदेखि महोत्तरीको बर्दिबासमा सुरु भएको २ नम्बर प्रदेशस्तरीय भेलालाई उद्घाटन गर्दै नेता खनालले भने, ‘अहिले संविधान संशोधन होइन्, संविधान कार्यान्वयनको आवश्यकता हो,’ संविधान संसोधन कुनै पनि हालतमा एमालेले हुन नदिने सरकारलाई उनले चेतावनी दिए । सरकारले स्थानीय निकायको चुनाव गराउन खुट्टा कमाइरहेको नेता खनालले आरोप लगाए। ‘तराई मधेसमा एकाई बढाउने खेल र संविधान संशोधनको हौवा फैलाएर सरकारले चुनाव नगर्ने दाउमा छ, मधेशमा स्थानीय निकायको चुनाव गराउन सरकारले आनाकानी गरिरहेको बताउँदै उनले भने,‘यदि सरकारले संविधान संशोधनको नाममा चुनाव सारे वा चुनाव बर्खास्त गरे नेकपा एमालले देशभरी आगो बाल्छ।’ आफ्ना कार्यकर्ताहरुलाई चुनावमा लाग्न उनले निर्देशन समेत दिए । २० बर्षपछि देशमा हुन गइरहेको स्थानिय निकायको चुनाव ऐतिहासिक रहेको नेता खनालले औल्याए । ‘संविधान संशोधनको हौवा फैलाएर कांग्रेस र माओवादी केन्द्रले संविधानको सारतत्वलाई नष्ट गर्न संसोधनको प्रस्ताव ल्याएको हो,’ नेता खनालले जिकिर गर्दै भने,‘मधेशी मोर्चाले संविधान संशोधनको गलत माग उठाएर कुवेलाको बाजा बजाइरहेको छ। सीमांकन हेरफेर संविधान विपरीत छ । यो राष्ट्रको हितमा पनि छैन।’ गलत माग उठाई मधेशी मोर्चाले अड्डी कसेर देशलाई कहिले शान्त नहुने बाटो पक्रेको आरोप लगाउँदै नेता खनालले अघि थपे, ‘एक मधेस स्वायस्त प्रदेश मधेशी दलहरुको धेरै पहिलेदेखि गलत माग उठाएर आन्दोलन गरिरहेको छ। त्यसको विपक्षमा पहिले देखि हामी उभिएका छौं ।’ मधेसमा मधेसी मोर्चाले एमालेलाई कार्यक्रम गर्नै नदिने, पस्नै नदिने अलोकतान्त्रि चरित्र देखाएको प्रति उनले आपत्ती जनाए। ‘हामी लडाई चाहेका छौनौं । हामी नव नेपाल निर्माणको युगमा संविधान कार्यान्वय गर्दै अघि बढ्ने हामी मुख्य कार्यभार हो,’ मेची महाकाली अभियान अन्र्तगत सप्तरीमा भएको हिंसात्मक घटनालाई सम्झिदैं मधेशी दललाई अंकित गर्दै उनले भने, ‘भाला, गरास, तलवार, बासको भाँटा र तिरको निसाना जस्ता हिंसात्मक राजनीति छोड्नुस् । मधेसी मोर्चासँग एमाले विचारको राजनीतिमा प्रतिस्पर्धा गर्न हाम्रो मधेशी मोर्चालाई चुनौती छ।’ मधेसी मोर्चाको भाला र तिरसँग मधेससहित देशभरका एमाले नडराउने उनले मधेशी दलहरुलाई चुनौती दिए। भेलामा एमालेका वरिष्ट नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, दुई नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलसहित महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौत्तहट, बारा र पर्साका जिल्लाका गाउँ कमिटी अध्यक्ष, नगर समितिका अध्यक्ष, क्षेत्रिय अध्यक्ष, जिल्ला कार्यसमिति , एमालेका संसदहरुको सहभागिता थियो। स्थानीय निकायको चुनावमा एमालेलाई कसरी पहिलो पार्टी बनाउने बिषयमा जिल्लागत प्रस्तुती, एमालेका महासचिव पोखरेलको प्रशिक्षण र वरिष्ट नेताहरुको निर्देशन सहितको भेला आज साँझ सकिने छ ।