चैत्र ४, २०७३
सेञ्चुरी कमर्सियल बैंकले हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ। दुबै कम्पनीबीच एक्वीजिसन सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ।
अल्पाइन डेभलपमेन्ट बैंकले आफ्नो पुँजीमा हकप्रद जारी गरी करिब ४४ करोड पुँजी पुर्याएर समाहित हुनेछ। अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखाहरु संचालनमा रहेका छन्। सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने सहमति गरिसकेकोे छ।
सेञ्चुरी बैंकले चार संस्था प्राप्तीबाट करिब २ अर्ब पुँजी प्राप्त गर्ने छ । नपुग पुँजी हकप्रद शेयर जारी गरेर तथा चालु आ.व.को मुनाफाबाट ८ अर्ब पुर्याउने लक्ष्य लिएको छ। यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन्।
सेञ्चुरी कमर्सियल बैंकको चालु आवको दोस्रो त्रैमाससम्म खुद मुनाफा २२ करोड ३९ लाख रहेको छ। बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले बढी हो। हाल सेञ्चुरी बैंककोे चुक्ता पुँजी ३ अर्ब ६८ करोड छ।