पुस १७, २०७३- तीनतिर पहाडले घेरिएको खोंचमा रहेको सानो गाउँ । आकाशमा हेलिकप्टर देख्नासाथ हातहातमा भएका स्मार्टफोन त्यतै सोझिए । ती हात केही समय भिडियो र तस्बिर खिच्न व्यस्त रहे । हेलिकप्टर गाउँ थर्काउँदै जमिनतिर ओर्लिंदै गर्दा उनीहरूका आँखा हेलिकप्टरको ढोकातिर केन्द्रित थिए ।
चुनबाङ भेडीडाँडाकी जुनसरा वली त्यही भीडमा उभिएकी थिइन् । उनी आँखा नझिम्क्याई हेलिकप्टरको ढोकातर्फ हेर्दै थिइन् । १२ वर्षअघि सरकारको आँखा छल्दै त्यो ठाउँमा माओवादीले करिब एक साता केन्द्रीय समिति बैठक गरेको थियो । त्यस बेलाका प्रमुख व्यक्ति माओवादी प्रमुख पुष्पकमल दाहाल थिए । उनी हेलिकप्टरबाट ओर्लनासाथ जुनसराको मुखबाट शब्द फुत्कियो, ‘ऊ प्रचण्ड ।’ उपस्थित सबैको ध्यान दाहालतिरै थियो ।
दलहरूबीच संविधान कार्यान्वयनका विषयमा राजनीतिक गतिरोधबीच गत शनिबार त्यहाँ पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाललगायत नेताहरू हेलिकप्टरबाट चुनबाङ ओर्लिए । दाहाललगायत नेताहरू फूलमाला, बाजागाजा र रातो टीकाको स्वागत पाएपछि दंग देखिन्थे । १२ वर्षको युद्धका भीषण दिन सम्झँदै उनीहरू केही भावुक पनि थिए । प्रधानमन्त्री दाहाल अरूभन्दा बढी भावुक देखिए । मञ्चमा बोल्दाबोल्दै भक्कानिए । उनलाई देखेर केही स्थानीय पनि रोए । त्यो पुनर्मिलनको संयोग थियो । जुन ठाउँमा दाहाल गत शनिबार उभिएका थिए, त्यहाँ भएको पार्टी बैठकले मुलुकलाई युद्धबाट मुक्त गर्ने बाटो खोलेको थियो । १२ वर्ष उनकै घरमा दाहाल बसेका थिए । पहिलोपटक दाहालले स्थानीयलाई खुला सम्बोधन त्यसबेला गरेका थिए ।
१२ वर्षअघि विद्रोही पार्टीको प्रमुखका रूपमा पुगेका दाहाल शनिबार भने मुलुकको कार्यकारीको हैसियतमा त्यहाँ पुगे । कुनै बेला उनी र उनका गुरिल्ला हिँडेको बाटोलाई उनले पर्यटक आकर्षण गर्न गुरिल्ला ट्रेकका रूपमा उद्घाटन गरे । अब त्यो ट्रेकमा गुरिल्ला होइन, स्वदेशी र विदेशी पर्यटक हिँड्ने छन् । गुरिल्ला ट्रेक म्याग्दीको बेनीदेखि रोल्पा, रुकुम हुँदै डोल्पासम्म तोकिएको छ । गुरिल्ला ट्ेरक उद्घाटन गरेपछि दाहालले चुनबाङलाई सधैं सम्झने वाचा गरे । ‘म चुनबाङलाई कहिल्यै बिर्सने छैन किनकि ठूलो राजनीतिक परिवर्तनका लागि यहाँ भएको बैठक महत्त्वपूर्ण छ,’ उनले भने । माओवादीको चुनबाङ बैठकबारे दाहाललाई मात्र होइन, राजनीतिमा चासो राख्ने धेरैलाई थाहा छ किनकि माओवादीको त्यो बैठकले गृहयुद्धमा फसेको मुलुकलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएको थियो ।
शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीले तीनपटक सत्ताको नेतृत्व गरे पनि चुनबाङ फेरिएको छैन । गाउँ उस्तै छ । ‘म १२ वर्षअघि आउँदा यो गाउँ जस्तो थियो, अहिले पनि उस्तै छ । हामी बसेको घर र बैठक गरेको गोठ पनि उस्तै छ,’ दाहालले यति कुरा भनेपछि भीडमा खासखुस चल्यो, ‘सरकारको नेतृत्व तीनपटक गरिसकेपछि पनि किन यहाँको विकास नगरेको ?’ माओवादीले २०६२ मा भूमिगत बैठक गरेको घर र गोठ संरक्षण गरिएको छ । ‘माओवादीको बैठक भएको हाम्रो घर र गोठ १० लाख रुपैयाँमा बेच्यौं,’ चुनबाङ ४ की जुनसराले भनिन् । स्थानीय संरक्षण समितिले त्यसलाई हेर्दै आएको छ ।
माओवादीले ऐतिहासिक बैठक गरेको चुनबाङको त्यो गोठका दलिन बिस्तारै कमजोर हुँदै गएका छन् । माओवादी अध्यक्ष दाहाल बसेको घर पनि पुरानो हुँदै गएको छ । शान्ति प्रक्रियामा आएको १२ वर्षपछि माओवादी आफैं पनि पुरानो दल हुँदै छ । माओवादीको २०६२ असोजमा भएको बैठकले प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रमा जाने कार्यदिशा पारित गरेको थियो । त्यो बैठकले कांग्रेस, एमालेलगायत दलसँग सहकार्य गर्ने निष्कर्ष निकाल्दै २०६२ मंसिरमा १२ बुँदे समझदारी गरेको थियो । माओवादीको चुनबाङ बैठक युद्ध अन्त्य गर्ने एउटा कोसेढुंगा बन्यो । दाहाललगायत माओवादी वरिष्ठ नेताहरूले त्यो दिनको स्मरण गरे, ती युद्धमय दिनलाई शान्तिपूर्ण राजनीतिमा बदल्न सकेकामा खुसी व्यक्त गरे ।
‘पुराना स्मृति फेरि ताजा भएका छन्, शान्ति प्रक्रियाका प्रतिबद्धता नयाँ उचाइमा उठाउने अनुभूति भयो,’ १२ वर्षपछि चुनबाङ पुगेका वरिष्ठ नेता रामबहादुर थापाले भने । शान्ति प्रक्रियामा जाने निर्णय भएपछि भएको सांस्कृतिक कार्यक्रममा अध्यक्ष दाहाल, नेता थापा, तत्कालीन माओवादी नेता बाबुराम भट्टराई रोएका थिए । दाहाल र भट्टराईबीच चुलिएको अन्तरसंघर्ष त्यही बैठकमा समाधान भएको थियो । दुवै नेताले ‘एकअर्कामा विलय भएको’ घोषणा गरेका थिए ।
करिब एक घण्टा चुनबाङ बस्दा दाहालले गुरिल्ला ट्रेक र युद्ध संग्रहालयको उद्घाटन गरे । ऐतिहासिक बैठक भएको ठाउँको अवलोकन गर्दै तस्बिर खिचाए । नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, गणेशमान पुनलगायतसँग चुनबाङ पुगेका दाहालले स्थानीयसँग केहीबेर भलाकुसारीसमेत गरे । ‘म आफूले सकेजति चुनबाङको विकासका लागि प्रयास गर्नेछु,’ दाहालले आश्वासन दिए । चुनबाङ बैठक हुँदा ३३ वर्ष टेकेका नेता वर्षमान पुन हाल ४५ वर्ष भइसके । ‘यो बिर्सन नसक्ने ठाउँ हो, नेपाली राजनीतिक इतिहासमा यसको ठूलो महत्त्व छ,’ आफू बसेको स्थान देखाउँदै भने, ‘त्यो दिन अहिले झल्झली सम्झिरहेको छु ।’ त्यसो त माओवादीका वरिष्ठ नेताहरूलाई चुनबाङमा उपस्थिति जनाउन मात्र १२ वर्ष लाग्यो । ‘नेताहरूले चुनबाङलाई सम्झेर आउनुभयो, खुसी लाग्यो,’ आइतबहादुर वलीले भने, ‘अबचाहिँ गाउँमा विकास भए हुन्थ्यो ।’
युवाको आशा
चुनबाङका अधिकांश युवाको हातमा स्मार्टफोन छ । २० वर्ष ननाघेका त्यहाँका युवालाई माओवादी युद्धको त्यति अनुभव छैन । अलिअलि सम्झना मात्र छ । चुनबाङमा केही नभएकामा अलि चित्तदुखाइ रहेछ । ‘अब त केही गर्नुपर्यो नेताहरूले, हामीले देख्दासम्म उस्तै छ,’ १७ वर्षीय रेमन कुमाखीको भनाइ छ । दोभान युवा समूह बनाएर विभिन्न कार्यक्रम गर्दै आएका उनीहरूले प्रधानमन्त्री दाहाललाई भेट्न नपाए पनि उनको भाषण सुनेर चित्त बुझाए ।
प्रकाशित: पुस १७, २०७३
श्रोतः कान्तिपुर