पौष १२,
नेपालीमा उखान छ–अन्न पोहोर साल बढी जाडो यो साल बढी। तर केही वर्षयता काठमाडौंमा जाडो पोहोर सालभन्दा कम कम हुँदै गएको छ। यो वर्ष पुसको मध्य हुन लाग्दा पनि काठमाडौंमा ठिहि¥याउने जाडो भएको छैन।
काठमाडौंमा बतास चल्छ तर हावा चिसो हुँदैन। यहाँ चिसो हावा चल्न ंनजिकैका लाङटाङ र गौरीशंकर हिमालमा हिउँ पर्नुपर्छ। यो वर्ष अझै पनि ती हिमालमा हिउँ परेको छैन।
गत साता काठमाडौं विश्वविद्यालयका दुई विद्यार्थीले रसुवाको लाङटाङ खोलामा बग्ने पानीको मात्रा नापेका थिए। उनीहरुको अध्ययनले पानी गत वर्षभन्दा दोब्बर बढी बगिरहेको देखायो। ‘अघिल्ला वर्ष यही समय खोलामा प्रतिसेकेण्ड तीन घनमिटर पानी बगेको देखिन्थ्यो यो वर्ष प्रतिसेकेण्ड ६ घनमिटरका दरले बगेको पाइयो’, काठमाडौं विश्वविद्यालयको हिमालयन क्राइस्फोयिर क्लाइमेट एण्ड डिजास्टर रिसर्च सेन्टरका प्रमुख सहप्राध्यापक रिजनभक्त कायस्थले भने, ‘यसको अर्थ लाङटाङमा अहिलेसम्म पानी जम्ने अवस्था बनेको छैन। हिउँ नपरेकोले लाङटाङबाट चिसो बोकेको हावा काठमाडौं आइसकेको छैन।’
नेपालमा हिमपात हुने र वर्षा हुने हावा विपरित दिशाबाट आउँछन्। बर्षा पूर्वी नेपालबाट सुरु भएर विस्तारै पश्चिमतिर बढ्छ भने हिउँ पर्ने क्रम पश्चिमबाट सुरु भएर पूर्वतिर सर्छ। ‘पश्चिमतिरका हिमालमा हिउँ पर्न सुरु भएको छ, तर धेरै मात्रामा हिउँ परेको छैन र त्यो पूर्वतिर आइसकेको छैन’, कायस्थले भने, ‘पोहोरपरार यतिबेला लाङटाङ र गौरीशंकरमा पनि हिउँ परिसकेको हुन्थ्यो।’
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष डिसेम्बर २५ बाट पश्चिमी क्षेत्रमा हिउँ पर्न सुरु भएको हो। तर त्यो प्रक्रिया पूर्वतिर आइसकेको छैन। ‘ अाइतबार दार्चुला र बझाङमा हिउँ परेको थियो, सोमबार डोल्पा र मुगुका उच्च भेगमा हल्का हिमपात भएको छ’, महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘यो सिस्टम त्यति शक्तिशाली नभएकाले पूर्वतिर आउन सकेन।’ ती भेगमा पुस २४ गते पानी पनि परेको थियो।
ढिला हिउँ परेकाले यो वर्ष नदीमा पानीको बहाव पोहोरभन्दा बढी भएको र यसले लोडसेडिङ हटाउने अभियान सहयोग पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यो वर्ष पुसमा १४४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनामा पाहोरको यही भन्दा झण्डै तीस मेगावाट बढी बिजुली उत्पादन भइरहेको छ। ‘अरू नदीमा पनि पानी पोहोरको जति घटेको छैन, यसले लोडसेडिङ हटाउने अभियानमा सहयोग पुगेको छ’, अधिकारीले भने। पिकिङ रन अफ दी िरभर अायोजना भएकाले पिक अावर भने कालीगण्डकीबाट १४४ मेगावाट बिजुली उत्पादन हुन्छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले यो हप्ता पोहोर सालको तुलनामा काठमाडौंमा झण्डै पाँच डिग्री तापक्रम बढी भएको देखाउँछ। गत वर्ष डिसेम्बर २७ मा काठमाडौंको तापक्रम १.५ मा झरेको थियो भने यो वर्ष सोही दिनको तापक्रम ५ डिग्रीभन्दा तल झरेको छैन। ‘पोहोर डिसेम्बरको २५ सम्म काठमाडौंको तापक्रम शुन्यमा झरिसकेको थियो’, विभागकी मौसमविद् प्रतिभा तुलाधरले भनिन्, ‘यो वर्ष डिसेम्बर ११ देखि न्युनतम तापक्रम ५ डिग्रीभन्दा तल झरेको छैन।’
विभागको तथ्यांकले पछिल्ला केही वर्ष यता काठमाडौंमा पुसको जाडो कम हुँदै गएको देखाउँछ। सन् १९९१ मा डिसेम्बरमा काठमाडौंको औसत तापक्रम १०.८ डिग्री सेल्सियस रहेकोमा सन् २००८ मा त्यो बढेर १४ डिग्री नाघेको थियो। घट्दै गएर गत वर्ष साढे ११ डिग्री पुगेको औसत तापक्रम यो वर्ष साढे १३ डिग्री पुग्ने देखिन्छ।
काठमाडौंमा चिसो नबढ्नुको अर्को कारण यो वर्ष डिसेम्बरमा काठमाडौंमा पानी नै परेको छैन। ‘यसअघि डिसेम्बरमा औसत १३ मिलिमिटर पानी पर्थ्यो’, मौसमविद् पौडेलले भने ‘यो वर्ष अहिलेसम्म पानी परेको छैन। अझै एकदुई दिन पानी पर्ने सम्भावना पनि छैन।’
विगत वर्षमा काठमाडौंमा डिसेम्बरको मात्र होइन्, हिउँदका अरु दुई महिना जनवरी र फेब्रुअरीको पनि तापक्रम बढिरहेको छ। सन् १९६८ मा यी तीनमहिनाको न्युनतम तापक्रम औसतमा –१.५ डिग्रीसम्म पुगेको थियो। तापक्रम बढ्दै जाँदा गत वर्ष हिउँदका तीन महिनाको औसत तापक्रम २.२ डिग्री सेल्सियससम्म मात्र पुगेको थियो।
मौसमविद् तुलाधरले सूर्य अहिले ‘वार्म फेज‘ मा भएकाले विश्वभरिको नै तापक्रम बढिरहेको बताइन्। ‘सूर्य ११.४ वर्ष वार्म फेज र त्यति नै समय कोल्ड फेजमा बस्ने गर्दछ, यो वर्ष जुन र जुलाई अहिलेसम्मकै बढी तापक्रम पुगेको थियो’, उनले भनिन् ‘पानी परेपनि यो वर्ष जुलाईमा बढेको तापक्रम अझै घट्न सकेको छैन।’
विश्वव्यापी उष्णता र जलवायू परिवर्तनले पनि तापक्रम बढाइरहे पनि तापक्रम बढनुमा मुख्य कुरा सूर्यको वार्म फेज भएको मानन्धरको भनाइ छ।
विभिन्न तथ्यांकहरुले सन २०२० पछि फेरि विश्वको तापक्रम घट्ने क्रम सुरु हुने देखाएको पनि उनले बताइन्।