पुस १२, २०७३- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने १४ करिडोरको निर्माण कार्य अघि बढाएको छ ।
सरकारले तिब्बती नाकासम्म सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोरको निर्माण अघि बढाएको हो । तमोर करिडोरले धनकुटा (मूलघाट)–लुम्बुघाट–ताप्लेजुङ (माझीटार)–दोभान–ओलाङचुङगोला हुँदै तिप्तला (तिब्बत सिमाना) नाका जोड्नेछ । तमोर कडिडोरको लम्बाइ २ सय ६५ किलोमिटर छ । धनकुटा–ताप्लेजुङ खण्डको १ सय ७० किमिमध्ये २५ किमि ट्रयाक निर्माण बाँकी रहेको छ । ताप्लेजुङ–ओलाङचुङगोला–तिप्तला खण्डको ९५ किमिमध्ये ३० किमि सडक निर्माण सम्पन्न भइसकेको छ । विभागले बाँकी निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोसी करिडोर विराटनगर (रानी)–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिनेछ । यसको लम्बाइ ३ सय १० किलोमिटर छ । रानी विराटनगर–इटहरी २६ किलोमिटर विस्तार भइरहेको छ । यस करिडोर निर्माणले पूर्वी क्षेत्रमा पर्यटकीय विकास निकै फडो मार्ने विश्वास गरिएको छ । उक्त करिडोरको खाँदबारीदेखि किमाथांका १ सय ६२ किलोमिटरमध्ये ८० किलोमिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । सरकारले बाँकी निर्माणका लागि ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कालीगण्डकी करिडोरलाई चौडा गर्ने काममा तीव्रता दिइएको उत्तर–दक्षिण लोकमार्ग प्रमुख गोपालप्रसाद सिग्देलले बताए । उनका अनुसार गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बाग्लुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिनेछ । त्यसको लम्बाइ ४ सय ३५ किलोमिटर छ । हालसम्म ४ सय २६ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ । पालुङखोला–मालढुंगा २६ किलोमिटर सडक नेपाली सेनाले चौडा पारिरहेको छ । जोमसोम–कोरला खण्डको करिब १ सय १० किलोमिटर सडकलाई ग्राभेलमा स्तरोन्नति गर्ने काम भइरहेको उनले बताए । सडक विभागका अनुसार बाँकी निर्माणका लागि यस आर्थिक वर्षमा करिब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
भेरी करिडोर जाजरकोट–दुनै–मरिम–तिन्जे धो भएर तिब्बत जोडिनेछ । यसको लम्बाइ १ सय ९० किलोमिटर छ । जाजरकोट–दुनै १ सय १७ किलोमिटरमध्ये १ सय २ किलोमिटर नेपाली सेनाले ट्रयाक खोलेको छ । खलंगा–रिम्ना खण्डको १८ किलोमिटर सडक कालोपत्रेको ठेक्का भइसकेको विभागले जनाएको छ । दुनै–मरिम–तिन्जे–धो सडकको करिब ७० किलोमिटरमध्ये ८ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको प्रमुख सिग्देलले बताए ।
बाँकी करिडोर निर्माणका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ । करिडोर निर्माणसँगै यस क्षेत्रमा विकासको ढोका खोल्न सकिने विभागले जनाएको छ । ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी १ सय ८८ किलोमिटर सडकको निर्माण कार्य अघि बढेको छ । त्यसमध्ये ठोरी–भण्डारा–मलेखु ८६ किलोमिटरमध्येको ४२ किलोमिटर निकुञ्जका कारण निर्माण बाँकी छ ।
गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ ४८ किलोमिटर सडकलाई दुई वर्षभित्र दुई लेन निर्माण गर्ने लक्ष्यका साथ विभागले ठेक्का आह्वान गरिसकेको छ । मैलुङ–स्याफ्रुबेंसी खण्डको करिब १८ किलोमिटर सडक सेनाले ट्रयाक खोलिसकेको छ । स्याफ्रुबेंसी–रसुवागढी १६ किलोमिटर दुई लेन सडक चीन सरकारले कालोपत्रे गर्न अध्ययन भइरहेको विभागले जनाएको छ । बाँकी करिडोर निर्माणका लागि १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
भिट्टामोड–ढल्केबार–सिन्धुली–मन्थली–दोलखा–लामाबगर–लाप्चा सडकअन्तर्गत लामाबगरसम्म यातायात सञ्चालनमा छ । यो सडकमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । लामाबगर–लाप्चा सडक खण्डमा करिब १ किलोमिटर सुरुङ निर्माण गरिनेछ । वीरगन्ज–हेटौंडा–नारायणघाट–मुग्लिन–काठमाडौं–धुलिखेल–दोलालघाट–बाह्रबिसे–कोदारीसम्म ३ सय ९० किलोमिटर छ । त्यस खण्डको धुलिखेल–दोलालघाट–बाह्रबिसे ६२ किलोमिटर ४ लेन र बाह्रबिसे–कोदारी खण्ड २५ किलोमिटर २ लेन स्तरोन्नति ५ वर्षभित्र सम्पन्न गरिने जनाइएको छ ।
सेती लोकमार्गअन्तर्गतको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट २ सय ९८ किलोमिटर निर्माण गरिनेछ । त्यसमध्येको ४४ किलोमिटर ट्रयाक निर्माण, ३ किलोमिटर कालोपत्रे, ३० किलोमिटर ग्राभेल भइसकेको छ । बाँकी निर्माणका लागि ४० करोड रुपैयाँ छुट्याएको छ । महाकाली करिडोर खण्डको ब्रहमदेव–झुलाघाट–दार्चुला–टिंकर खण्डको ४ सय २० किलोमिटर ट्रयाक खोल्ने काम अघि बढेको छ । गोरखाको नल्याङ भन्ज्याङ–छेकम्पार–चुम्चेत–सिर्दिवास, गुम्दा खण्डको १ सय २० करिब १९ किलोमिटर ट्रयाक खुलिसकेको छ । यस आर्थिक वर्षमा १० किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ ।
दोलखाको जिरी–सल्लेरी–ढिंग्री तिब्बत सीमासम्म करिब ८८ किलोमिटर छ । यसमध्ये ५५ किलोमिटर सडकको ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । यस आर्थिक वर्षमा ८ किलोमिटर सडकको ट्रयाक खोलिनेछ । त्यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मुगु–तिब्बती सीमा न्याक्चेलाग्नासम्म करिब ८५ किलोमिटर लम्बाइ छ । १३ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । त्यसमध्येको ६ किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन भएको छ । १ सय ५ किलोमिटर लम्बाइको हुम्ला–सिमकोट–लिमी–लाप्चा सडकमा ८२ किलोमिटर ट्रयाक खुलिसकेको छ । ६ किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली करिडोरमा करिब २ सय ८५ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ ।
ताप्लेजुङ पनि
लामो गृहकार्यपछि उत्तरी छिमेक चीनको तिब्बतसँग ताप्लेजुङको ओलाङचुङगोला गाविसको बस्ती सडक सञ्जालले जोडिने भएको छ । नेपाल सरकारको अनुरोधमा तिब्बत प्रशासनले सडक खन्ने स्काइभेटर मेसिन भाडामा दिएपछि सडक निर्माणले गति पाउने भएको हो ।
निर्माणका लागि ओलाङचुङगोलामा जन्मेर अमेरिका, बेलायतलगायतका देश र काठमाडौंमा बस्दै आएकाहरू तथा स्थानीयवासीले लगानी गर्ने भएका छन् । गाविसको पूर्वाधारतर्फको बजेट पनि सडकमै लगाइने भएको छ भने सांसद विकास कोष र उत्तर–दक्षिण लोकमार्ग आयोजनाले पनि केही रकम दिने भएका छन् । ओलाङगोलाका टासी शेर्पाका अनुसार शुक्रबारदेखि ट्रयाक खोल्ने काम सुरु भएको छ । तिब्बतसँग सिमाना जोडिएको टिप्ताला भञ्ज्याङबाट निर्माणको काम सुरु भएको हो । दुईवटा स्काइभेटर मेसिन र एउटा रोलर पयोग गरिएको उनले टेलिफोनमा जानकारी दिए । ट्रयाक खोल्ने र त्यसलाई माटो पेलेर बलियो बनाउन रोलरको प्रयोग गरिएको उनले जनाए । स्थानीय छेतेन वालुङलगायतका उपभोक्ता समितिका सदस्यहरू निर्माणमा जुटेका छन् । निर्माणको जिम्मा उपभोक्ता समितिले लिएको छ ।
तत्कालका लागि समुदायले उठाएको १ करोड रुपैयाँ खर्च गर्ने छेतेनले बताए । अमेरिमाका बस्दै आएका तेञ्जिङ उक्याव एक्लैले ५३ लाख दिएको ताम्ला उक्याव बताउँछन् । अरूले ३० हजार अमेरिकी डलर संकलन गरेका छन् । उपभोक्ता समितिले गाविसको बजेट पनि सम्झौता गरिसकेको छ । ८३ लाख बजेट रहेको गाविसले प्रशासनिक, महिला, बालबालिका, लक्षित वर्गको रकम छुट्याएर पनि ६० लाख सडकमा लगाउन सक्ने ओलाङचुङगोला घर भएका पूर्व जिविस सदस्य लाक्पा वालुङले बताए । निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख छुट्याएको सांसद डम्बरध्वज तुम्वाहाम्फेले जनाए । तिब्बतबाट गोलाको बस्ती जोड्न १९ किलोमिटर सडक ट्रयाक खोल्नुपर्छ । यसअघि स्थानीयवासीले २ वर्षको गाविसको बजेटबाट २ किलोमिटर सडक खनेका थिए ।
बाहिरबाट हेर्दा भीरपहरा नभएकाले अहिले संकलित रकमले पुग्ने अनुमान गोलावासीले गरेका छन् । अपुग भए ऋण गरेर पनि सडक जोड्ने योजना उनिहरूको छ । ८ वर्षअघि सदरमुकाम फुङलिङबाट सुरु भएको ट्रयाक खोल्ने काम कछुुवा गतिमा बढिरहेको छ । सुस्त गतिमा एकातिरबाट मात्रै खनिँदा गति कम भएको भन्दै गोलावासीले दुईतिरबाट खन्न सरकारसँग अनुरोध गरेका थिए ।
केपी ओली प्रधानमन्त्री हुँदा दुईपटक ज्ञापन पत्र बुझाइएको थियो । गत मंसिर महिनामा भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले परराष्ट्र मन्त्रालयमा सडकका लागि समन्वय गर्न पत्राचार गरेको थियो । परराष्ट्रले चीन सरकारलाई मेसिन भाडामा दिन अनुरोध गरेपछि कामले गति पाएको हो ।