२०७६ मंसिर ४ गते काठमाडौं
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी उच्च विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न युक्रेनी समकक्षीसँग आग्रह गरेको स्वीकारेका छन् । उनले एक कदमअघि बढेर युक्रेनी समकक्षीसमक्ष ट्रम्पले गरेको राजनीतिक आग्रह अनुचित भएको टिप्पणीसमेत गरेका छन् ।
गत जुलाईमा ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेंस्कीसँग फोनवार्ता गरेका थिए । जसमा उनले डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी नेता जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न जेलेंस्कीलाई दबाव दिएको अभियोग डेमोक्रेटिक पार्टीसँगै अन्यले लगाउँदै आएका छन् । यसकै लागि युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोकिएको दाबी पनि ट्रम्पका आलोचकहरूको छ ।