पौष ७, सञ्चालक र व्यवस्थापनको अनियमितताले विभिन्न समयमा संकटग्रस्त बनेपछि समस्याग्रस्त घोषणा भएका मध्ये ८ वित्तीय संस्था पुनः सञ्चालनमा आउने भएका छन् ।
नयाँ लगानीकर्ताले ती संस्था सञ्चालनका लागि थप लगानी गर्न तयार भएपछि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएर पुनः वित्तीय कारोबार खुला गर्न लागेको छ ।
समस्याग्रस्त मध्ये ८ वटा आउँदो ४ महिनाभित्र सञ्चालनमा आउने राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । “समस्याग्रस्त वित्तीय संस्थामा लगानी गरेर पुनः सञ्चालनमा ल्याउन धेरै लगानीकर्ताले चासो देखाएका छन्,” उनले भने, “८ वटा संस्था सञ्चालनका लागि चाँडै समझदारीपत्र (एमओयु) मा हस्ताक्षर हुँदैछ ।” यसले आगामी दिनमा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ ।
जनरल फाइनान्सको पुनः वित्तीय कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यसबाट वित्तीय क्षेत्रका लगानीकर्तामाझ सकारात्मक सन्देश गएको बताए । गलत लगानी तथा संस्थागत सुशासनको अभावमा वित्तीय अवस्था नाजुक भएपछि विभिन्न समयम राष्ट्र बैंकले ११ वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न प्रतिवन्ध लगाएको थियो । यसमध्ये जनरलले कारोबार सुरु गरिसकेको छ ।
११ वित्तीय संस्था समस्याग्रस्त भई सर्वसाधारणको निक्षेप र सेयर लगानीसमेत गरी कुल ७ अर्ब १४ करोड ९० लाख रुपैयाँ जोखिममा परेको छ । यसमध्ये ६ अर्ब ४२ करोड रुपैयाँ सर्वसाधारणको निक्षेप र ७२ करोड ९० लाख रुपैयाँ सर्वसाधारणलको सेयर लगानी छ । ११ वित्तीय संस्थामा सर्वसाधारणको ३० प्रतिशत सेयर लगानी छ ।
राष्ट्र बैंकले नेपाल सेयर मार्केट फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुबेर मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, जनरल फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण फाइनान्स लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
यी वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्धा दायरा दायर हुनुका साथै केही बैकिङ कसुरमा थुनामा छन् । बैकिङ कसुरमा कारबाही हुने डरले कतिपय विदेश भागेका छन् ।
यी वित्तीय संस्थामा कुल ११ अर्ब १९ करोड रुपैयाँ निक्षेप भएकोमा पछि समस्याग्रस्त भएपछि घटेर ६ अर्ब ४२ करोडमा सीमित भएको छ । संस्थाले १४ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । निक्षेप भन्दा कर्जा लगानी बढी छ ।
११ वित्तीय संस्थामा ९३.३ प्रतिशत लगानी खराब कर्जामा रूपान्तरण भएको छ । बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएमा जोखिम मानिन्छ । यीमध्ये क्यापिटल मर्चेन्टको शतप्रतिशत नै खराब कर्जा छ । यस्तै चुक्तापुँजी २ अर्ब ४३ करोड रुपैयाँ छ ।
यस्तै समस्याग्रस्त भएपछि ४ वित्तीय संस्था खारेजी भएका छन् । यसरी खारेजीमा पर्नेमा नेपाल विकास बैंक, युनाइटेड विकास बैंक, सम्झना फाइनान्स लिमिटेड र हिमालयन फाइनान्स लिमिटेड छन् ।