पुुस ३
चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको लगानी सुधारोन्मुख देखिएको छ । उद्योग विभागका अनुसार विगतको वर्षहरुको तुलनामा यो वर्ष ठूला उद्योगहरुमा लगानीकर्ताहरु बढी उत्साहित देखिएका हुन् । चालू आर्थिक वर्षको सुरुको पाँच महिनामा मात्रै ५५ वटा ठूला उद्योगले सञ्चालनको लागि अनुमति लिइसकेको विभागले बताएको छ ।
चालू आवमा ५५ वटा ठूला उद्योग सञ्चालनको लागि अनुमति
गत वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बरको संख्यामा विभागमा ठूला उद्योग सञ्चालनको लागि दर्ता भएका छन् । ठूला उद्योग सञ्चालन गर्नको लागि यो वर्ष लगानीकर्ताहरुले ८० हजार पाँच सय ५६ मिलियन रुपैयाँको प्रस्ताव पेस गरिसकेको विभागले जनाएको छ । विभिन्न किसिमका उद्योग सञ्चालनको लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबाट उक्त प्रस्ताव आएको हो । विभागका अनुसार उपत्यकामा १५ वटा ठूला उद्योग सञ्चालनको लागि प्रस्ताव आएको छ । अरु बाँकी बाहिरका जिल्लामा उद्योग सञ्चालन गर्न इच्छुक देखिएका हुन् । विभागका प्रवक्ता दुर्गा प्रसाद भुषालका अनुसार नेपालका नेपाल साना तथा मझौला उद्योगहरुको संख्या अत्यधिक रहेको भए पनि ठूला उद्योगको संख्या कम रहेको छ । देशको आर्थिक विकास महत्वपूर्ण योगदान राख्नसक्ने किसिमको उद्योगहरु अहिले आवश्यकता रहेको उनको भनाइ छ । नेपाली स्रोत र साधनको उपयोग हुने गरी उद्योगहरु सञ्चालन अनुमतिलाई सरकार प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
विभागका अनुसार चालू आवमा दर्ता भएका ठूला उद्योगमध्ये २२ वटा उत्पादनमूलक क्षेत्र, नौवटा ऊर्जाक्षेत्र, दुईवटा कृषि तथा वन्यजन्तु क्षेत्र, ११ वटा सेवामूलक क्षेत्र १० वटा पर्यटन क्षेत्र र एउटा निर्माण क्षेत्रमा उद्योग सञ्चालन गर्ने गरी दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३१ वटा मात्रै उद्योगहरु दर्ता भएका थिए । गत वर्षको तुलनामा यो वर्ष उद्योगको क्षेत्र पनि विस्तार भएको पाइएको छ । गत वर्ष ऊर्जामा आठ, उत्पादनमूलकमा १५, सेवामूलकमा ३ र पर्यटन क्षेत्रमा पाँचवटा मात्र ठूला उद्योगदर्ता भएका थिए । विगत वर्षहरुभन्दा यो वर्ष नेपालको स्रोत साधनअनुसारको उद्योग दर्ता भएकोले लगानीकर्ताबाट आशावादी देखिएको विभागले बताएको छ । अहिले नेपालले कृषिक्षेत्र, ऊर्जा र पर्यटनमा लगानीको लागि आशा गरिरहेको छ । त्यसको लागि वातावरण पनि सहज बनाउँदै लगिएको विभागले बताएको हो । नेपालमा लगानीको प्रस्ताव धेरै आउने गरे पनि त्यसको आधिकारिकता हुनसकेको थिएन । तर गत वर्ष संविधान निर्माणपछि लगानीकर्ताहरुको ठूला उद्योगप्रति सञ्चालनको लागि बढी उत्साहित देखिएको विभागको तथ्याङ्कले बताएको छ ।
यो आर्थिक वर्षमा उपत्यकामा मात्रै नभएर बाहिरका जिल्लाहरुमा पनि लगानीकर्ताहरु उद्योग सञ्चालनको लागि उत्साहित देखिएका छन् । यो वर्ष विभागमा दर्ता भएका ठूला उद्योगहरुमध्ये रुपन्देहीमा ५, सुनसरीमा ३, सुर्खेतमा १, ललितपुरमा ४, महोत्तरीमा १, मोरङमा २, नवलपरासीमा २, नुवाकोटमा १, ओखलढुङ्गामा १, झापामा ३, काठमाडौंमा ९, भक्तपुरमा २ वटा रहेका छन् । त्यस्तै बाग्लुङमा १, बारामा २, चितवनमा १, दैलेखमा १, दाङमा २, दार्चुलामा २, धनुषामा १, धादिङमा २, गोरखामा १, इलाममा १, कालीकोटमा १, कास्कीमा १, काभे्रमा दुईवटा उद्योग सञ्चालनको लागि दर्ता भएका हुन् ।
नेपाल सरकारले साना/ठूला उद्योगलाई गरेको वर्गीकरण
साना उद्योग : लघु उद्यम र परम्परागत तथा अन्य घरेलु उद्योगबाहेक पाँच करोड रुपैयाँसम्म स्थिर जेथा भएका औद्योगिक व्यवसाय,
मझौला उद्योग : मझौला उद्योग भन्नाले पाँच करोडभन्दा बढी पन्ध्र करोड रुपैयाँसम्म स्थिर जेथा भएका औद्योगिक व्यवसाय,
ठूला उद्योग : पन्ध्र करोड रुपैयाँभन्दा बढी स्थिर जेथा भएका औद्योगिक व्यवसाय ।
– See more at: http://www.aarthikdainik.com.np/breaking_news_detail/20/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%A0%E0%A5%82%E0%A4%B2%E0%A4%BE-%E0%A4%89%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%97-%E0%A4%B8%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4.html#sthash.zgWWlbL7.dpuf