पुस ३ – भूकम्पबाट अति प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा दुई वटा एकीकृत नमुना बस्ती निर्माण गरेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली)ले तेस्रो एकीकृत नमुना बस्ती निर्माण गर्ने भएका छन् । धुर्मुस
सुन्तली फाउण्डेशनले यस पटक विपन्न समुदायका नागरिकका लागि तेस्रो एकीकृत नमुना बस्ती निर्माण गर्न लागेको जनाएको छ । तेस्रो एकीकृत नमूना बस्ती भूकम्प प्रभावित जिल्ला भन्दा बाहिर तराईका जिल्लामा निर्माण गरिने आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन सीताराम कट्टेल धुर्मसले बताउनुभयो । अबको केही दिनमै यसको घोषणा गर्ने उहाँले बताउनुभयो ।
धुर्मुस–सुन्तली फाउण्डेसनले यसअघि भूकम्प प्रभावित काभ्रेको पोखरीडाँडा र सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गरिसकेको छ । एकीकृत नमुना वस्ती निर्माणका क्रममा थुप्रै चुनौति र कठिनाईको सामना गर्नुपरेको कुञ्जना घिमिरे (सुन्तली)ले बताउनुभयो ।
त्यस्तै कलाकार धुर्मुस–सुन्तलीले बालमैत्री देश बनाउने अभियानमा आफूहरु लागेको बताउनुभयो । बालमैत्री कथावस्तुमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेको चलचित्र ‘ज्योती’को प्रदर्शनका लागि कलाकारद्धय नेपालगञ्ज आउनुभएको हो ।