पुस १, २०७३-
- स्वीकृत भयो पीडीए
- क्षमता २१६ मेगावाट
- ५० अर्ब विदेशी लगानी
- पीडीएमा छिट्टै हस्ताक्षर
- पीपीए रेट तय हुन बाँकी
सरकारले कोरियाली र नेपालीको संयुक्त लगानीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पीडीए स्वीकृत गरेपछि मुलुकको जलस्रोत क्षेत्रमा दक्षिण कोरियाबाट ५० करोड अमेरिकी डलर (५० अर्ब रुपैयाँ) विदेशी लगानी भित्रिन लागेको हो । आयोजना निर्माण गर्न ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, १० प्रतिशत लगानी भने नेपाली साझेदारले गर्नेछन् । दुई दशक अगाडि विदेशी लगानीमा ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना निर्माण भएयता मुलुकमा वैदेशिक लगानीमा कुनै पनि आयोजना बनेका छैनन् । बिजुली निर्यात गर्ने उद्देश्यले ९ सय मेगावाटको माथिल्लो कर्णाली र ९ सय मेगावाटकै अरुण तेस्रो निर्माण गर्न क्रमश: जीएमआर र सतलजले २०७१ असोज २ मा पीडीए गरे पनि लगानी जुटाउन बाँकी रहेको छ भने जग्गाको मुआब्जा, वनलगायतका समस्याका कारण अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।