मंसिर २५ – १८ बर्ष पहिले रोजगारीका लागि युएई आएका अभय श्रेष्ठको अहिले परिचय फेरिएको छ । सुटबुट कसेर स्यालुट ठोक्ने काम अर्थात चौकिदारी गर्न सन् १९९८ मा आबुधाबी पुलिस फोर्समा आएका उहाँ अहिले युएईमा हरियो रायोको सागको ब्रान्ड बनाउँदै हुनुहुन्छ ।
त्यसो त उहाँले नेपालमा पनि १० वर्ष नेपाली सेनामा रहेर काम गर्नुभयो । तेक्वान्दोका थर्ड डन ब्ल्याक बेल्ट अभयले नेपाल आर्मीको खेलकुद विभाग अन्तर्गत एक वर्ष स्याङ्जामा बसेर सहायक प्रशिक्षकको रुपमा काम समेत गर्नु भएको थियो ।
ठमाडौंको असनका अभय श्रेष्ठ आबुधाबी पुलिस फोर्समा काम गर्न युएई आउनु भएको थियो । अहिले उहाँले त्यो काम छोडेर अर्कै कम्पनीमा काम गर्नुहुन्छ । पुलिस फोर्सको काम छोडेर उहाले अर्को कन्ट्याङ्टिङ कम्पनीमा काम त थाल्नु भयो नै, सँगै मरुभुमीको जग्गा भाडामा लिएर हरियो रायोको साग उब्जाउदै आफ्नै ब्राण्ड बनाइरहनु भएको छ ।
गएको वर्षदेखि उहाँले युएईमा रायोको सागको खेती सुरु गर्नुभएको हो । उहाले युएईको दुवई–आबुधाबी जाने बाटोको मध्यभाग बनियासको भित्री गाउँमा डेढ बिगाह क्षेत्रफल पाँच वर्षका लागि भाडामा लिएर रायोको सागको खेती गरिरहनु भएको छ ।
सो क्षेत्रफलका लागि उहाँले वर्षको डेढ लाख दिर्हाम अर्थात झण्डै ४५ लाख रुपैयाँ तिर्नुपर्छ । उहाँले बालुवामाथि मलजल गरेर नेपालमै मलखातको छेउमा उब्जाइने रायो युएईमा उब्जाएको देखेर धेरै नेपालीहरु पनि छक्क पर्ने गरेका छन् ।
अभयले अहिले पाँच जना नेपाली र दुई पाकिस्तानी नागरिकलाई रोजगारी दिनुभएको छ । युएई ग्रिन भेजिटेबल प्रोडक्ट मार्फत बिउविजन ल्याएर फर्टिलाइजर गर्ने र रायोको साग हुर्काउने धुनमा हुनुहुन्छ । खेतीमा आफैं पुगेर उहाँले सागमा पानी हाल्ने, मलजल गर्ने र झारमैला गोड्ने काम पनि गर्नुहुन्छ । उहाँले उब्जाएको रायोको सागले गएको वर्ष युएईका विभिन्न ठाउँमा राम्रो बजार पाएको थियो ।
रायोको सागलाई अलग पहिचान बनाउन हरियो रायोको साग ब्राण्डका रुपमा विक्रिवितरण पनि गरिँदै छ । बजारमा अन्य नक्कली तथा केही सागहरु बजारमा लगेर बजार बिगार्नेहरु पनि सक्रिय रहेको अभयले बताउनुभयो ।
आफूले उब्जाएको रायोको साग अहिले दुवईका विभिन्न सब्जीपसलसम्म पुगिसकेको उहाँले बताउनुभयो । उहाँले उब्जाएको साग सतुवाको अल दियाफा शाखा, अल माया सुपरमार्केट तथा मनखुल रोड एण्ड सिटी मार्टबाट विक्रि हुने गरेको छ । आबुधाबी, अलऐन, सारजाह क्षेत्रमा अर्को हप्ता देखि रायोको साग बजारमा लगिने छ ।
हरियो रायो सागको युएईमा मात्रै नभएर जापान, कोरिया तथा थाइल्याण्डबाट समेत माग आइ रहेकोले ब्राण्ड बनाएर माग अनुसार उब्जाउ गर्न लागिएको श्रेष्ठले बताउनु भयो । ‘नेपाली स्वादको नेपाली हरियो रायोको साग अब तपाईंकै कार्यक्षेत्रमा पाइन्छ’ श्रेष्ठले भन्नुभयो ।