२५ मङिसर । मंसिरको यो समयमा तपाईको आफ्नै घर, परिवार तथा छरछिमेकमा विहे भयो होला र हुँदै पनि होला ।
विहेको बेला प्रिती भोज लगायत विभिन्न तडकभडकमा लाखौ पैसा खर्च गरेको पनि देख्नुभएको होला र गर्नुपनि भयो होला । विगतमा हेलिकप्टर चार्टर गरेरै विहेमा विलासिताका कामहरु देखिएका थिए ।
तर त्यसको ठिक उल्टो चितवनमा एउटा यस्तो नमूना जोडी भेटिएको छ । जसले आफ्नो विहेको खर्च समाजसेवामा समर्पित गर्नुभएको छ । यसरी नमुना काम गर्ने जोडीको नाम हो भरतपुरका विपुल सुवेदी र प्रतिक्षा धिताल ।
उहाँहरुको विवाह शुक्रबार भरतपुरमा भयो । आज शनिवार भरतपुर स्थित मानवसेवा आश्रममा एक कार्यक्रम नै आयोजना गरी विहेमा लाग्ने खर्च रु ३ लाख भन्दा बढी रकम समाज सेवामा प्रदान गर्नुभएको छ ।
सडकबाट बेवारिसे र मनोरोगीहरु उठाएर उपचार र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमका लागि रु १ लाख १ हजार १२१ रुपैयाँ र रु २ लाख रुपैयाँ देवघाटमा विद्युतीय शवदाह निर्माणका लागि उहाँहरुले सहयोग गर्नुभएको हो ।
भरतपुर स्थीत मानवसेवा आश्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरी नवविवाहित जोडी विपुल सुवेदी र प्रतिक्षा धितालले उक्त सहयोग रकम सर्वाेत्कृष्ट चिन्तन साँचो जिवन निर्माण अभियानका संयोजक एवं पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनलाई हस्तान्तरण गर्नुभएको थियो ।
डा टन्डनले उक्त रकमको चेक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सोही कार्यक्रममा प्रदान गर्नुभयो ।
सो क्रममा बोल्दै टन्डनले मानविय कार्यमा सहयोग गर्नुभएकोमा नवविवाहित जोडीलाई धन्यवाद दिंदै सबै मिलेर मानविय कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पशुपति क्षेत्रमा विद्युतीय शवदाहले ४५ मिनेटमा शव जलाउन सक्ने भएको जानकारी दिंदै अब चितवनको देवघाटका लागि विद्युतीय शवदाह निर्माण गर्न यो २ लाख रुपैयाँको विजारोपण गरिएकोमा धन्यवाद व्यक्त गर्नूभयो ।
कार्यक्रममा बोल्दै नव जोडीका बुवा, समाजसेवी तथा भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले व्यवहार परिवर्तन गरेर आफुले सामाजिक हित र समाज रुपान्तरणका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि मानवसेवा आश्रम र भरतपुर अस्पतालको विपन्न उपचार सहयोग कोषमा आर्थिक सहयोग गर्नुभएको थियो ।
मानव सेवाका लागि उत्कृष्ट काम गरेकोले आफुनो परिवारका तर्फबाट छोराको विहेमा लाग्ने खर्च जोगाएर आश्रम र विद्युतीय शवदाह निर्माणमा सहयोग गरिएको भन्दै जानकारी दिनुभयो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले मानविय कार्यमा सहयोग गरेकोमा खुसी व्यक्त गर्नुहुँदै नेपालको सडकलाई बेवारिसे मानव मुक्त बनाउने आफ्नो लक्ष्यमा ईच्छा कटौती गरेर सहयोग गर्नुभएकोमा नव विवाहित जोडीलाई बधाई ज्ञापन गर्नुभयो ।
आजको सो कार्यक्रममा एमालेकी उपाध्यक्ष तथा पुर्व मन्त्री अष्टलक्ष्मी शाक्य, एमाले पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारी र अरुण नेपाल, केन्द्रिय सदस्य केदार न्यौपाने साँसद कृष्णभक्त पोखरेल लगायतको सहभागिता रहेको थियो ।
श्रोतः ए टु जेड समाचार डट कम