मार्ग २४, भरतपुर । भ्रष्टाचार न्यूनीकरणमा संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने एक भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
दिवसको अवसर पारेर सप्तगण्डकी बहुमुखी क्याम्पस समाजशास्त्र तथा आमसंचार विभागको आयोजनामा शुक्रबार भरतपुर स्थित ग्लोवल होटलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश नारायण सुवेदीले संचारमाध्यमको कारणले कतिपय मुद्दामा न्यायाधीशकै जागिर गएको नजिर रहेको उल्लेख गर्दै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन संचारमाध्यम अझै शसक्त र खोजमुलक कार्यमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सप्तगण्डकी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख खेमनारायण सापकोटाले हाल भारतमा रु ५ सय र १ हजारको नोट प्रतिवन्ध लगाउनुमा भ्रष्टाचार न्यूनीकरणकै अभियान रहेको दृष्टान्त व्यक्त गरे । पूर्वसाँसद एवम् भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले भ्रष्टाचार मुक्त देश निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले संचारमाध्यमले भ्रष्टाचारको विषय छाप्नु वा प्रशारण गर्नु मात्रै जिम्मेवार हुनु नभएर उठाइएका विषयहरुको टुंगो नलागेसम्म नियमित प्रकाशन प्रशारण गरी जनतालाई पूर्ण रुपमा सुसुचित हुने अधिकार प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले भ्रष्टाचार निर्मूल पार्न सम्भव नभए पनि नियन्त्रणका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने विचार राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले संचारमाध्यम राजनीतिक भाषण र औषचारिक कार्यक्रमको सूचना लिनमा मात्र व्यस्त हुँदा भ्रष्टाचारका कतिपय विषयहरु ओझेलमा परेको बताए ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ चितवन अध्यक्ष सूर्य बराल, नारायणी टू डेका सम्पादक वीरेन्द्रमणी पौडेल, संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलगायतले भ्रष्टाचार न्यूनीकरणमा संचारमाध्यमको भूमिका महत्वपूर्ण रहने विचार राखेका थिए ।
सप्तगण्डकी क्याम्पसमा पत्रकारिता अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरुको समन्वयमा उक्त कार्यक्रम भएको थियो । तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सविता रेग्मीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम समाजशास्त्र तथा आमसंचार विभागका प्रमुख सोमराज महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।