- लागूऔषध ओसारपसारको मुद्दामा गत वर्ष ४ जना महिला पक्राउ परेका थिए, पछिल्लो ११ महिनामा ९ महिला पक्राउ परिसकेका छन्
- ल्यापटपको फल्स बटममा कोकिन, नेपाली बजारमा अनुमानित मूल्य ३ करोड रुपैयाँ
- पक्राउ परेका अधिकांश विदेशीलाई जैसीदेवल कारागारमा राखिन्छ
मंसिर २४, २०७३- नेपालमा पछिल्ला ११ महिनामा मात्रै १८ विदेशी नागरिक लागूऔषधसहित समातिएका छन्। तिनमा पुरुष र महिलाको संख्या बराबर अर्थात् ९/९ छ। जबकि गत वर्ष लागूऔषध ओसारपसारको मुद्दामा समातिएका १६ विदेशीमध्ये ४ जना मात्रै महिला थिए। पछिल्लो वर्षमा लागूऔषध ओसारपसारका अधिकांश ठूला घटनामा महिलाको संलग्नता देखिएको छ। यो तथ्यले अन्तर्राष्ट्रिय गिरोहले लागूऔषध ओसारपसारमा महिलाको प्रयोग बढाएको देखिन्छ।
मंसिर १४ मा मात्रै लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलको साओपाउलो विमानस्थलबाट यूएईको आबुधाबी हँुदै काठमाडौं आएकी मलेसियन नागरिक एलिस जोसेफलाई डेढ किलो कोकिनसहित पक्राउ गर्यो। ल्यापटपको फल्स बटममा एलिसले ल्याएको कोकिनको मूल्य नेपाली बजारमा अनुमानित तीन करोड रुपैयाँ पर्छ। त्यसअघि साउन २६ मा पनि ब्युरोले ६ करोड १० लाख रुपैयाँ मूल्य बराबरको करिब साढे ३ केजी कोकिनसहित वारान्य केईपिकुललाई बरामद गरेको थियो। मलेसियाबाट काठमाडौं आएकी केइपिकुल त्यतिका धेरै कोकिन क्वालालम्पुर हुँदै थाइल्यान्ड पुर्याउने योजनामा थिइन्।
ब्युरो प्रमुख जयबहादुर चन्द पछिल्ला महिनाहरूमा बरामद भएका ठूलो परिमाणका लागूऔषध मुद्दामा विदेशी महिलाको संलग्नता धेरै देखिएको बताउँछन्। त्यस्तै जेठ १६ मा ३ केजी १ सय ७७ ग्राम कोकिनसहित पक्राउ परेका चिनियाँ नागरिक चुन मान होले काठमाडौंमा रहेकी बोलिभियन महिलाबाट त्यतिका परिणाममा लागूऔषध लिएका थिए। मानले उक्त कोकिन मलेसियाको क्वालालम्पुर हुँदै हङकङ पुर्याउन लागेका थिए।
लागूऔषधका मुद्दामा थुनामा रहेका विदेशीहरूमध्ये महिलाको संख्या उल्लेख्य छ। लागूऔषध ओसारपसारमा थुनामा परेकामध्ये अधिकांश विदेशीलाई जैसीदेवल कारागारमा राखिन्छ। जैसीदेवल कारागारमा रहेका लागूऔषध मुद्दाका ७८ विदेशीमध्ये २० महिला छन्। ब्युरो प्रमुख डीआईजी चन्द सुरक्षा जाँचमा कम निगरानी हुने ठानेर महिलाको प्रयोग बढाइएको हुन सक्ने बताउँछन्। उनले भने, ‘अन्तरदेशीय लागूऔषध कारोबारमा पछिल्ला महिनामा महिलाको संख्या उल्लेख्य बढेको छ।’
बढ्दै विदेशी
लागूऔषध कारोबारीको संख्यात्मक वृद्धिसँगै विदेशीको संलग्नता पनि हवात्तै बढेको छ। पछिल्ला ६ वर्षमा नेपालीको तुलनामा विदेशी कारोबारीको संख्यामा बढोत्तरी भएको छ। ६ वर्षमा ८ सय १२ नेपाली लागूऔषध मुद्दामा पक्राउ परेका छन् भने यही अवधिमा १ सय ३६ विदेशी पक्राउ परेका छन्। डीआईजी चन्दका अनुसार फितलो नेपाली कानुनका कारण अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाइरहेका छन्। नेपालमा अधिकतम २० वर्षभन्दा लामो जेल सजाय व्यवस्था छैन। त्यस्तै करोडौंको लागूऔषधका कारोबारीलाई पनि बढीमा २५ लाख रुपैयाँभन्दा धेरै जरिवाना गर्न मिल्ने प्रावधान छैन। पछिल्ला ६ वर्षमा सबैभन्दा धेरै ७३ भारतीय, ८ चिनियाँ र ६ पाकिस्तानी लागूऔषध कारोबारमा पक्राउ परेका छन् ।