मंसिर २३, २०७३- इन्टरनेट चलाउन आवश्यक ब्यान्डविथ भारतीय मार्गबाट ल्याउँदै आएको नेपालले पहिलोपटक चिनियाँ बाटोबाट ल्याउने सम्झौता गरेको छ । रसुवागढी नाका हुँदै चीनबाट ब्यान्डविथ किन्ने विषयमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच मंगलबार सम्झौता भएको हो ।
हङकङमा भएको सम्झौताअनुसार अब टेलिकमले रसुवागढी नाका नजिकै रहेको चाइना टेलिकमको ‘जिलोङ गेटवे’ मार्फत इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ ल्याउनेछ । यसअघि टेलिकमसहित नेपालका सबै सेवा प्रदायकले भारतीय बाटोबाट मात्र ब्यान्डविथ भित्र्याउँदै आएका थिए ।
इन्टरनेटका लागि अप्टिकल फाइबर र स्याटलाइटमार्फत ब्यान्डविथ भित्र्याउने गरिन्छ । विश्वभर नै हाल अप्टिकल फाइबरमार्फत ब्यान्डविथ भित्र्याउने चलन बढेको छ । अन्य माध्यमको तुलनामा फाइबरलाई प्रभावकारी मानिन्छ । टेलिकम र चाइन टेलिकमको अप्टिकल फाइबर नेटवर्क गत जेठ तेस्रो साता रसुवागढी नाकामा जोडिएको थियो । त्यसबेला गरिएको परीक्षण सफल भए पनि व्यावसायिक कारोबारका लागि भने सम्झौता भएको थिएन ।
मंगलबार नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेडका कार्यकारी उपाध्यक्ष ओउ यानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ‘चीनसँग स्थल मार्गबाट जोडिएकाले अरू सेवा प्रदायकसँग पनि यसैगरी ब्यान्डविथ किन्न सकिनेछ,’ टेलिकम प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।
टेलिकमले यसअघि भारतीय मार्गबाट भैरहवा, वीरगन्ज र विराटनगर नाका हुँदै ब्यान्डविथ किन्ने गरेको थियो । वैद्यका अनुसार अहिलेको सम्झौताअनुसार ब्यान्डविथ आउने क्रम सुरु हुन भने केही समय लाग्नेछ । ‘यत्ति नै समय लाग्छ भन्न सकिन्न, प्राविधिक कुराहरू मिलाउन बाँकी छन्,’ उनले भनिन्, ‘हामी एक महिनाअघि नै ब्यान्डविथ भित्र्याउने पहलमा छौं ।’
सम्झौताका क्रममा चाइना टेलिकमका उपाध्यक्ष यानले हिमालय क्षेत्रमा आफ्नो कम्पनीले फाइबर सञ्जाल विस्तार गरिरहेको जानकारी दिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हिमालय क्षेत्रको सञ्जालका कारण नेपाल चीन र भारतबीचको फाइबर सञ्जालका लागि ट्रान्जिट बन्न सक्ने बताए । यसैगरी अमात्यले पनि चीनसँग समेत फाइबरमा जोडिएर ब्यान्डविथ खरिद गर्न सकिने भएपछि नेपाल दूरसञ्चारका लागि पनि ट्रान्जिट बन्न सक्ने बताएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत जेठमा नेपाल टेलिकम र चाइना टेलिकमले पहिलोपटक परीक्षणका रूपमा ब्यान्डविथ आदानप्रदान गरेका थिए । त्यसबेला नेपालबाट बेइजिङ र त्यहाँबाट काठमाडौंतर्फ ब्यान्डविथ पठाइएको थियो । रसुवागढी नाकाबाट अप्टिकल फाइबर जोड्नुअघि सरकारले दक्षिण एसियाली सूचना मार्ग (सासेक) अन्तर्गत तातोपानी नाका हुँदै चीनसँग अप्टिकल फाइबर जोड्ने योजना अघि बढाएको थियो । त्यसका लागि तातोपानी नाका नजिकै अप्टिकल फाइबर पुगिसकेको भए पनि चीनसँग जोडिएको थिएन । गत वर्षको भूकम्पले योजना सफल हुन नसकेपछि टेलिकमले रसुवागढीतर्फ फाइबर विस्तार सुरु गरेको थियो ।
चीनसँग अप्टिकल फाइबर जोड्न टेलिकमले धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्म करिब ९० किलोमिटर फाइबर बिछ्याएको थियो । नेपाल टेलिकम २०५४ सालमा पहिलोपटक भारतसँग अप्टिकल फाइबरमार्फत जोडिएको थियो । चीनसँग अप्टिकल फाइबरमार्फत जोडिँदा नेपालले सस्तोमा ब्यान्डविथ पाउनुका साथै भारतसँगको परनिर्भरता कम हुन सक्नेछ । सासेकका लागि भएका विभिन्न अध्ययनले अप्टिकल फाइबरको माध्यमबाट नेपाल विश्व सञ्जालमा जोडिँदा टेलिफोन र इन्टरनेटको शुल्क कम्तीमा ३० प्रतिशत घट्ने देखाएका छन् । इन्टरनेट सेवा प्रदायक संघ (आइस्प्यान) का अनुसार नेपालबाट मासिक रूपमा करिब १३ देखि १५ करोड रुपैयाँ ब्यान्डविथका लागि बिदेसिने गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २०७२ वैशाखदेखि २०७३ वैशाखसम्म ब्यान्डविथका लागि करिब २ अर्ब रुपैयाँको विदेशी मुद्रा सिफारिस गरेको थियो ।
के हो ब्यान्डविथ
कम्प्युटर नेटवर्कको भाषामा ब्यान्डविथ भनेको डाटाको प्रसारण दर हो । तोकिएको समयमा कति डाटा प्रसारण हुन्छ भन्ने आधारमा यसको मापन गरिन्छ । प्राय: डाटालाई बिट्स र समयलाई सेकेन्डमा गणना गरेर यसको मापन हुन्छ । डाटाको गति बढदै गएपछि त्यसलाई ‘मिलियन्टस अफ बिट्स प्रतिसेकेन्ड (मेगाबिट्स प्रतिसेकेन्ड–एमबीपीएस)’ वा ‘बिलियन्स अफ बिट्स प्रतिसेकेन्ड (गिगाबिट्स प्रतिसेकेन्ड–जीबीपीएस)’ मा मापन गर्ने गरिन्छ ।
ब्यान्डविथ इन्टरनेट र इन्टरनेटमार्फत हुने आवाज तथा दृश्य प्रसारणको मुख्य आधार हो । उच्च दरको ब्यान्डविथ भए इन्टरनेट र इन्टरनेटमार्फत हुने आवाज तथा दृश्यको प्रसारण गति पनि तीव्र हुन्छ । तर, ब्यान्डविथका साथै सूचना प्रविधि पूर्वाधार, ब्यान्डविथ चुहावटको अवस्थालगायतका कुराले पनि इन्टरनेटको गतिमा असर पर्छ । फरक–फरक सेवाका लागि चाहिने न्यूनतम ब्यान्डविथ पनि फरक हुन्छ ।
एसएमएसजस्ता अंक र अक्षर लेखेर तत्काल पठाइने सन्देशका लागि १ हजार बिट्स प्रतिसेकेन्ड गतिभन्दा कमको ब्यान्डविथले समेत काम गर्छ । आवाजसहितको सन्देश र कुराकानीका लागि भने प्रतिसेकेन्ड ५६ हजार बिट्सभन्दा बढी (५६ केबीपीएस) को ब्यान्डविथ जरुरी हुन्छ । स्ट्यान्डर्ड डेफिनेसन भिडियो (४८० पी) को आदानप्रदानका लागि कम्तीमा १ मोगाबिट्स प्रतिसेकेन्ड र हाई डेफिनेसन (७२० पी) भिडियो आदानप्रदानका लागि कम्तीमा ४ एमबीपीएस प्रतिसेकेन्ड गतिको ब्यान्डविथ चाहिन्छ ।