मंसिर २२, २०७३- विद्युत् प्राधिकरण ग्रिड सञ्चालन विभागअन्तर्गत ढल्केबरको विद्युत् सबस्टेसन निर्माण जनवरीसम्ममा सकिने भएको छ । सबस्टेसनको काम अर्को महिनासम्ममा पूरा भएमा भारतबाट थप बिजुली आयात गर्ने सरकारी योजना छ । आयोजनाका डिभिजनल इन्जिनियर राधेशरण महतोका अनुसार ढल्केबरमा सञ्चालनमा रहेको १ सय ३२ केभी सब–स्टेसनलाई विस्तार गरी पहिलो चरणमा २ सय २० केभी पुर्याउने काम अन्तिम चरणमा छ ।
उनले दोस्रो चरणमा यसलाई विस्तार गरी ४ सय केभी पुर्याउने जनाए । उनका अनुसार दोस्रो चरणको विस्तार काम पनि डेढ वर्षभित्र पूरा हुनेछ ।
नेपाल–भारतबीच विद्युत् व्यापार प्रयोजनका लागि भएको सम्झौताअनुसार एक देशले अर्को देशलाई आवश्यकताअनुसार विद्युत् उपलब्ध गराउनेछ । ढल्केबर–मुजफ्फरपुर (भारत) प्रसारण लाइनको निर्माण पूरा भई हाल भारतबाट विद्युत् आपूर्ति गर्न लागिएको डीई महतोले जनाए ।
यसैगरी ढल्केबर–हेटौंडा प्रसारण लाइन तथा ढल्केबर– खिम्ती–काठमाडौं प्रसारण लाइनको निर्माण कार्य पनि द्रुत गतिमा भइरहेछ । ढल्केबर सब–स्टेसनको निर्माण पूरा भएपछि २ सय २० केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै धनुषा, महोत्तरीलगायतका जिल्लाको लोडसेडिङ हट्ने सम्बद्ध प्राविधिकले बताएका छन् ।
खिम्ती–ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा
खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारणलाइनको काम एक महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका, भीमेश्वर र रतनचुरा गाविसमा तारपोल निर्माणमा स्थानीयको अवरोध जग्गाको मुआब्जा वितरणपछि काम अघि बढेको हो ।
प्रसारण लाइन आयोजना प्रमुख श्याम यादवका अनुसार निर्माण गर्न बाँकी रहेको ७ वटा पोलमध्ये ६ वटा निर्माण भइसकेका छन् । रतनचुराको विजयछापमा निर्माण हुन बाँकी पोलको काम दुई सातामा सक्ने उनले बताए ।
खिम्ती–ढल्केबर प्रसारण लाइन ७४ किलोमिटर लम्बाइ छ । प्रसारणलाइनको तारपोल विस्तारमा अवरोध उत्पन्न भएपछि पीडितहरूको माग सम्बोधन गर्ने भन्दै सरकारले तारमुनि पर्ने दायाँबायाँ १५/१५ मिटर जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरेको छ । फिडर सडक बनाएर मुआब्जा वितरण गर्दा तारपोलमुनिको नभई पहुँचका आधारमा खोलाको जमिनलाई दिएको तर वास्तविक जमिन पर्नेले नपाएको पीडित संघर्ष समितिको गुनासो छ ।
l