मंसिर २१ – शिक्षामन्त्री धनिराम पौडेलले सत्र प्रकारका शिक्षकको कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताउनुभएको छ ।
सोमबार रामेछापको दिमिपोखरीमा रहेको मावि मन्दर मेलचौरको ४३औं बार्षिकोत्सब समारोहलाई सम्वोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकारी विद्यालयमा सत्र प्रकारको नभई एकै प्रकारका शिक्षकको व्यवस्थापन गर्ने
योजनामा सरकार रहेको पनि जानकारी दिनुभयो । ‘सत्र प्रकारका शिक्षकका कारण सरकारी विद्यालयको स्तर खस्कियो, अब सत्र प्रकारका शिक्षक रहदैनन्’ शिक्षामनत्री पौडेलले भन्नुभयो ।
त्यस्तै उहाँले नागरिकलाई निःशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न र सबै नागरिकको समान ढंगले शिक्षामा पहुँच स्थापित गर्न सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताउनुभयो ।
सरकारी विद्यालयमा विद्यार्थी जाउँ जाउँ लाग्ने वातावरण नबनाई शिक्षामा लिएको लक्ष्य पूरा नहुने भन्दै मन्त्री पौडेलले भन्नुभयो, ‘विद्यालयलाई भौतिक सुविधा सम्पन्न, बालमैत्री बनाइने छ । शिक्षालाई विज्ञान र श्रमसँग जोड्दै यसलाई गुणस्तरीय, व्यावहारिक र रोजगारमुलक बनाइने छ ।’