मंसिर २१, २०७३- भारतले पाँच सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि विकल्पका रूपमा मोबाइल किनमेलको दरिलो माध्यम बन्न थालेको छ । हातहातमा रहेको मोबाइलबाट किनमेल गर्न सकिने सम्भावनालाई सरकारले पनि बढावा दिइरहेको छ । कालोबजारी र कालोधन रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटमाथि लगाइएको प्रतिबन्धबाट सिर्जित समस्या हल गर्न मोबाइल एप्लिकेसन्सको सहायता लिन थालिएको हो ।
तीमध्येको एक हो, अन्स्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा (यूएसएसडी) । यूएसएसडी सेन्टरका रूपमा यसलाई परिभाषित गरिएको छ । यसको सेवा स्मार्टफोन र साधारण फिचर भएको मोबाइल दुवैमार्फत प्राप्त गर्न सकिन्छ । यूएसएसडीका लागि भने प्रत्येक मोबाइल नेटवर्क सर्भिस प्रोभाइडर कम्पनीले छुट्टाछुटै कोडको प्रयोग गर्छन् । उक्त कोडबाट ग्राहकको फोनमा बैंक खाताको जानकारी र रकम भुक्तानी (फन्ड ट्रान्सफर ) सम्म गर्न सकिनेछ । तर, यसका लागि प्राप्त म्यासेजमध्ये एन्क्वायरी, फन्ड ट्रान्सफर, चेन्ज एमपीआईएन, फरगेट एमपीआईएनलगायतका अप्सनमध्ये उपभोक्ताले एउटा छनोट गर्नुपर्नेछ । यति मात्रै होइन, यसमा म्यासेज पनि गर्न सक्ने प्रावधान राखिएको छ । तर, यूएसएसडी म्यासेजमा शब्दको सीमा १५० र स्थानीय भाषाहरूमा ४५ देखि ६० छ । यूएसएसडीको प्रयोग गर्न व्यक्तिले आफ्नो मोबाइल बैंक खाताबाट लिंक चाहिँ गर्नैपर्छ । त्यसपछि व्यक्तिले आफ्नो मोबाइलबाट ह्यास ९९ डायल गरी प्राप्त निर्देशनअनुरूप कार्य गर्नुपर्ने हुन्छ ।
यसैगरी नगदविहीन कारोबारका लागि ‘एस बैंक’ ले डिस्ट्रिक्ट कोअपरेटिभ बैंक देहरादूनसँग मिलेर ‘सिमसेपे प्लेटफर्म’ सार्वजनिक गरेको छ । यसको फाइदा भनेको यसमा इन्टरनेट कनेक्सन आवश्यक छैन । यो एसएमएसमा आधारित छ । ‘टाइसिस टेक्नोलजी’ अन्तर्गतको ‘सिम स्लिभ टेक्नोलजी’ बाट यो सञ्चालित हुन्छ । चीन र केन्यालगायतका मुलुकमा धेरै पहिलेदेखि यो प्रविधिको प्रयोग गरिँदै आएको छ । यो सेवाका लागि उपभोक्ता या ग्राहकले आफ्नो खातामा रजिस्टर्ड नम्बरबाट कल या म्यासेज गर्नुपर्छ । बैंकले यसका लागि ग्राहकको प्रत्येक कारोबारका लागि अलगअलग कोड उपलब्ध गराउँछ । त्यही आधारमा कारोबार गर्न सकिन्छ ।
भारतमा क्यासलेस कारोबारलाई प्राथमिकताका साथ लागु गर्नुअघि एसबीआईले अघिल्लै वर्ष स्मार्टफोन बेस्ड एप्लिकेसन एसबीआई बडी सार्वजनिक गरेको थियो । यो सेवा धेरैले मन पराए । तर, त्यसलाई अझ परिमार्जित गर्दै हाल बैंकले ‘एसबीआई बटुआ सर्भिस’ ल्याउने तयारी गरेको छ । यो सेवा एउटा सिममा आधारित हुनेछ । यो पनि स्मार्टफोन र फिचर फोनमा बिनाइन्टरनेटको प्रयोग गर्न सकिने बैंकको दाबी छ । यो प्रिपेड वालेटलाई ई–बटुआ नाम दिइएको छ । यो एन्ड्रोएइड मोबाइलमार्फत उपयोग गर्न सकिन्छ ।
भारतको प्रमुख ई–वालेट कम्पनी ‘मोबिक्विक’ ले ग्रामीण क्षेत्रलाई ध्यानमा राखी एउटा छुट्टै नयाँ सेवा ‘मोबिक्विक लाइट’ सार्वजनिक गरेको छ । यो सेवा एउटा मोबाइल एप्लिकेसनबाटै मात्र लिन सकिन्छ । तर, अन्त्यन्तै कम स्पिड भएको इन्टरनेट क्षेत्रमा समेत काम गर्ने दाबी कम्पनीको छ । एक एमबीको यो एप्लिकेसनबाट विभिन्न अति आवश्यक बिलको भुक्तानीसँगै बजारमा किनमेल गर्न सकिने बताइएको छ ।
क्यासलेस ट्रान्जेक्सनका लागि यूपीआई मोबाइल एप्प पनि त्यहाँ ल्याइएको छ । यसका लागि यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गरी स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ । यो एपमार्फत एक दिनमा ५० देखि १ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । यसमा २४ घन्टे फन्ड ट्रान्स्फरको सुविधा छ । यसैगरी पीओएस मेसिन पनि प्रयोगमा ल्याएको छ । यो मेसिन व्यापारी या व्यवसायीलाई बैंकबाट प्राप्त हुन्छ । त्यस्तै कार्ड इनेबल्ड पेमेन्ट सिस्टम पनि क्यालेस ट्रान्जेक्सनलाई ध्यानमा राखेर अघि सारिएको अर्को प्रणाली हो । यो प्रणालीमा व्यक्तिलाई आफ्नो बैंक खाता आधार कार्डसँग जोड्नुपर्छ । व्यक्तिलाई माइक्रो एटीएम या बैंक करेसपोन्डेटमा गएर बैंकको नाम र आधार कार्ड नम्बरको जानकारी दिनुपर्छ ।
त्यस्तै भारतको एउटा ई–कमर्स वेबसाइट पेटिएम हो, यसले मोबाइल रिचार्जिङ, बिल पेमेन्ट गर्न प्रयोग गर्न सकिन्छ । फिलिप्कार्ट, अमेजोन डटकम, स्नेपडिलजस्ताको उत्पादन खरिदमा यसको व्यापक प्रयोग गर्न सकिन्छ । हाल बस यात्राको टिकटदेखि चलचित्रको टिकट बुकिङमा पनि उपयोग गरिन्छ । यो प्रिपेड मोबाइल रिचार्ज वेबसाइट हो । एन्ड्रोएड, विन्डोज र आईओस एपसमार्फत ‘पे थ्रु मोबाइल’ सुविधा उपलब्ध छ ।
एक रिपोर्टअनुसार करिब सबा अर्ब जनसंख्या रहेको भारतमा ७० करोडसँग मोबाइल कनेक्सन छ । भारतमा स्मार्टफोन राख्नेहरूको संख्या २० करोडको हाराहारीमा छ, हाल यसको बजार
बढ्दो छ । तर, अझै पनि मोबाइल प्रयोग गर्नेहरूमा धेरैसँग स्मार्टफोन छैन, उनीहरूलाई क्यासलेस प्रणालीमा समस्या हुन सक्छ ।
क्यासलेस सोसाइटीका लागि इन्टरनेट अति जरुरी हुन्छ, चीनमा ‘६ जी’ सम्म पुगिसकेको छ, भारतले हालै मात्र ‘४जी’ सार्वजनिक गरेको छ, नेपालमा ‘४जी’ ल्याउने तयारी हुँदै छ । त्यस्तै भारत इन्टरनेट स्पिडको मामिलामा विश्वमा ११४ औं स्थानमा छ, त्यहाँ सबैभन्दा कम स्पिड २ दशमलव ८ एमबीपीएस रहेको बताइएको छ । जापानमा यो १७ दशमलव ४ एमबीपीएस भए पनि त्यहाँ पूरै क्यासलेस ट्रान्जेक्सनमा जान नसकेको अवस्थामा भारतमा समस्या हुने जानकारहरू बताउँछन् । उनीहरू भन्छन्, ‘यस्तो अवस्थामा डिजिटलमा जानु समस्या छ । अझ भारतमा स्मार्टफोन प्रयोग गर्ने धेरै जनसंख्या आज पनि ‘२जी’ जस्तो सस्तो सेवामा निर्भर रहेको अवस्था छ । त्यसैले ‘२जी’ सेवा प्रयोग गर्नेहरूका लागि डिजिटल ट्रान्जेक्सन कठिन हुनेछ ।’
आरबीआईद्वारा ‘प्रिपेड पेमेन्ट इन्स्ट्रयुमेन्ट’ मा जोड
भारतीय रिजर्भ बैंक (आरबीआई) ले क्यासलेस फन्ड ट्रान्सफर वा कारोबार गर्न कार्ड वा मोबाइललाई ‘प्रिपेड पेमेन्ट इन्स्ट्रयुमेन्ट’ का रूपमा प्रयोग गर्न जोड दिएको छ । यसका लागि स्मार्ट कार्डस, म्याग्नेटिक स्ट्रिप कार्डस्, नेट एकाउन्ट, नेट वालेट्स, मोबाइल एकाउन्ट, मोबाइल वालेट या पेपर भउचर उपयोगमा ल्याउन सकिने उसले जनाएको छ । यी सबैलाई उसले ‘क्लोज्ड’, ‘सेमी (क्लोज्ड’ र ‘ओपन’ तीन भागमा विभाजन गरेको दि इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।
अनलाइनका अनुसार क्लोज्ड (बन्द) सेवामार्फत समान किनमेल गर्न सकिने भए पनि नगद निकाल्न सकिन्न । सेमी–क्लोज्ड (अर्ध–बन्द) का प्रयोगकर्ताले व्यापारीसँग एक विशेष प्रकारको करार गरी यो सेवा लिन सक्ने उल्लेख छ । यसबाट वित्तीय सेवासहित आफूलाई आवश्यक पर्ने समान र अन्य सेवाहरू लिन सकिने जनाइएको छ । यो सेवाबाट पनि पनि नगद भने निकाल्न पाइन्न । भारतमा पे–टीएम र स्टेट बैंक बुड्डीलगायतले यो सेवा प्रदान गर्छ । त्यस्तै ओपन (खुला) सेवामा फन्ड ट्रान्सफर गरी बजारमा कारोबार या अन्य वित्तीय सेवा लिन सकिन्छ । यो सेवा आफू रहेको ठाउँमा मात्रै प्रयोग गर्न सकिने जनाइएको छ । यसले एटीएमहरूमा रकम निकाल्ने सेवा प्रदान गर्छ । सबै भिसा र मास्टरकार्ड यसैअन्तर्गत पर्छन् ।
जहाँसम्म क्यासलेस मोड्सको कुरो छ, यसमा मोबाइल वालेट, प्लास्टिक मनी र नेट बैंकिङ पर्छ । मोबाइल वालेट मोबाइल फोनमा प्राप्त हुने भच्र्युअल वालेटमा आधारित छ । यसमा ग्राहकले रकम जम्मा गरी अनलाइन वा अफलाइन पेमेन्ट गर्न सक्ने सुविधा उपलब्ध छ । मोबाइल एप्सबाट विभिन्न सेवादाताहरूले यस प्रकारको वालेटको प्रयोग गर्छन्, जुन सेवा ग्राहकले एप डनलोड गरेर पनि लिन सक्छन् । ग्राहकले यो वालेट अनलाइन (नेट) प्रयोग गरी क्रेडिट/डेबिट कार्ड या नेट बैंकिङबाट रकम ट्रान्सफरसम्म गर्न सक्छन् । यसको अर्थ ग्राहकले वालेटमार्फत कुनै पनि बेला बिल भुक्तानी वा अनलाइनमार्फत किनमेल गर्न सक्छन् । यो वालेटको प्रयोग शुल्क तिर्न, बिल बुझाउन र अनलाइन किनमेल गर्न सकिनेछ ।
प्लास्टिक मनीलाई पनि क्यासलेस मोड्सकै रूपमा प्रयोग गर्न सकिने इकोनोमिक टाइम्सले जनाएको छ । यसमा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरू पर्छन् । यी सबै बैंकले उपलब्ध गराउँछ, यसलाई नेट बैंकिङमार्फत रिचार्ज गरी प्रयोगमा ल्याउन सकिन्छ । यसैगरी अर्को क्यासलेस मोड्समा नेट बैंकिङ पनि पर्छ । यसमा कुनै वालेटको प्रयोग हुँदैन । ग्राहकको खाता रहेको बैंकबाट अनलाइनमार्फत अर्को बैंक, क्रेडिट कार्ड अथवा थर्ड पार्टीमा रकम ट्रान्सफर गर्न सकिने सुविधा छ । यो सेवा कम्प्युटर अथवा मोबाइल फोनद्वारा उपयोग गर्न सकिन्छ । ग्राहकले यसका लागि उसको खाता इन्टरनेटमा रहेको बैंक खातामा लग गरी नेसनल इलेक्ट्रोनिक फन्ड्स ट्रान्सफर (एनईएफटी) द्वारा रकम ट्रान्फर गर्न सक्छन् । यसका लागि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) अथवा इमिडिएट पेमेन्ट सर्भिस (आईएमपीएस) लाई पनि प्रयोगमा ल्याउन सकिन्छ । यी सबै सेवा ५ देखि ५५ रुपैयाँसम्मको मूल्य तिरेर उपलब्ध हुन्छ ।
(एजेन्सीहरूको सहयोगमा)