५ नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँ, भैरहवा, पाल्पा, गुल्मी लगायत विभिन्न जिल्लामा बिहीबार पनि बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।
बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन प्रभावीत भएको छ । अनिश्चितकालीन रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववीयु लगायतका विद्यार्थी संगठन तथा अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा बिहानैदेखि प्रद्धर्शन सुरु भएको हो ।
बुटवलको राजमार्ग चौराह, मिलनचौक बसपार्क ,पुष्पलाल पार्क लगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्बसाधारणहरु स्वतस्फूर्त सडकमा उत्रिएका छन् । केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका सबै दलका कार्यकर्तासमेत विरोधमा उत्रीएका छन् ।
बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । बन्दकर्ताले अवरोध गरेपछि भित्री सडकमा समेत सवारीचलेका छैनन् । बजार, पसल, औद्योगीक प्रतिष्ठान, शिक्षणसंस्था सबै बन्द छन् । सडकमा नाराजुलुस सहित टायर बालिएका छन् । स्वतस्फुर्त सडकमा उत्रीएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाईंदैन, संविधान संशोधन चाँहीदैन, हिमाल पहाड तराई कोही छैन पराई, देश बचाऔं, राष्ट्रियता जोगाऔं लगायतका नारा लगाएका छन् ।
बन्दमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ लगायतका उद्योगी तथा व्यापारीक संघसस्थाहरु पनि आन्दोलनमा जुटेका छन् ।
पहाडि जिल्ला पाल्पा अर्घाखाँची गुल्मी रोल्पा प्युठान छुट्याउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने प्रद्धर्शनकारीहरुले चेतावनी दिएका छन् । ५ नम्बर प्रदेश भुगोलका हिसाबले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सामिप्यता समेटिएकाले दलहरुले हिमाल, पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्रन सक्ने उनीहरुको चेतावनी छ ।
पाल्पमा पनि बन्द
५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पाका युवा, विद्यार्थी, तरुणले आयोजना गरेको पाल्पा बन्दले जनजीवन प्रभावित बनाएको छ ।
उनीहरुले बिहानैदेखि पाल्पामा प्रदर्शन, यातायात बन्द र बजार पसल बन्द गराएका छन् । बिहानैदेखि सडकमा ओर्लिएका युवा, विद्यार्थी र तरुणले बजार, कलकारखना, स्कुल क्याम्पसको बिहानी कक्षा बन्द गराएका छन् ।
पाल्पा बन्दले पाल्पाको तानसेन लगायत ग्रामीण भेगका साथै सिद्दार्थ राजमार्ग र गुल्मी, अर्घाखांची जाने सडकमा सवारी साधन बन्द भएको छ । विद्यार्थी र युवाहरु सडकमा नारा जुलुस गर्दै हिँडेका छन् ।
पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारी साधन बन्द भएका छन् । युवा विद्यार्थीले नारा लगाउदै राष्टघाती संविधान संशोधन फिर्ता लिनुपर्ने र नलिएमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । ५ नम्बर प्रदेश टुक्रयाएको विरोधमा दलहरुले वृहत अन्तरक्रिया राखेका छन् भने १८ गतेलाईसमेत पाल्पा बन्द आव्हान गरिसकेका छन् ।
संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेको विरोधमा पाल्पाका युवा, तरुण विद्यार्थीले भोलि बिहिबार पाल्पा बन्दको घोषणा गरेको नेपाल विद्यार्थी संघका अध्यक्ष कृष्णबहादुर आलेले बताए । सरकारले विद्येयक फिर्ता नलिएसम्म विभिन्न आन्दोलनको कार्यक्रम गर्नेसमेत उनले बताए ।
संविधान संशोधनका विरुद्धमा सबै युवा, विद्यार्थी र तरुण एकजुट भएर आन्दोलन अघि बढाएको अखिलका केन्द्रीय सदस्य दिपक विकले बताए । उनले दलहरुको आन्दोलनलाई सहयोग गर्दै युवा, तरुण र विद्यार्थीले आन्दोलनलाई थप सशक्त बनाउने बताए ।
युवा विद्यार्थीले अनिश्चितकालीन रुपमा सरकारी नम्बर प्लेटका सवारी साधनलाई गुड्नसमेत नदिएको बताए । सरकारको संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राउने एजेण्डा फिर्ता नलिएसम्म सरकारी सवारी साधनलाई तानसेन बजारमै गुड्न नदिनेसमेत युवा, तरुण विद्यार्थीले बताए । बन्दका बेला राप्रपा पाल्पाको एकता भेलालाई भने कार्यक्रम गर्न दिने उनीहरुले बताएका छन् । प्रेस, दुध, पानी, पर्यटक, एम्बुलेन्स लगायतका सवारी साधनलाई चल्न दिइएको उनले बताए ।
गुल्मीमा बिहानै देखि प्रदर्शन
सरकारले ५ नं. प्रदेश टुक्रयाउने गरी संसदमा दर्ता गराएको संशोधन प्रस्ताव विरुद्ध हिजोदेखि अनिश्चितकालिन बन्द आव्हान गरेका गुल्मी जिल्लाका सबै राजनीतिक दलले आज पनि बिहानैदेखि प्रदर्शन शुरु गरेका छन् ।
राजनीतिक दलले बिहिबार जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । बिहान ९ बजेदेखि नै जिल्ला प्रशासन र जिविसको मुख्य गेटमा धर्ना दिएपछि कार्यालयका अधिकांश कर्मचारी बाहिरै छन् । जिविसमा भने स्थानीय विकास अधिकारीले समेत प्रवेश पाएका छैनन् ।
कर्मचारी र सेवाग्राही समेतले प्रवेश नपाएपछि प्रशासन र जिविस परिषर भित्र प्रहरी मात्र देखिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी भक्तिराम मरासिनी प्रशासनको मुख्य गेटबाट नपसी आन्दोलनकारी भेला हुनु अघि नै पछाडीको गेटबाट भित्र पसे पनि अन्य कर्मचारी सबैलाई प्रवेशमा रोक लगाइएको नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
आज बिहान भएको बैठकले जिल्लाका विद्यालय र विद्यार्थी बोक्ने सवारी साधन नरोक्ने निर्णय गरेपछि शिक्षण संस्था खुलेका छन् । तर जिल्लाभर लामो तथा छोटो दुरीका सवारी साधन र बजार ठप्प छन् । सवारी साधन नचलेपछि सर्वसाधरण मर्कामा परेका छन् ।
राजनीतिक दलको आन्दोलनमा जिल्लाका गुल्मी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ, नागरिक समाज, लगायत संघ संस्थाले ऐक्यवद्धता जनाएका छन् ।
सरकारले संसदमा दर्ता गरेको ५ नं. प्रदेश टुक्रयाउने प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी रहने नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्तले बताउनु भयो ।
त्यस्तै प्रस्तावको विरोधमा गुल्मी जिल्लाका बलेटक्सार, शान्तिपुर, बिरबास, खैरेनी, गौडाकोट लगायतका सबै बजारमा समेत वाणिज्य संघको आव्हानमा बिहानैदेखि बन्द र प्रदर्शन भैरहेको छ । राजनीतिक दलहरुले गाउँगाउँबाट पनि आन्दोलन चर्काउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।