चितवन, साउन १९
संसारभर चलेको युद्ध, हतियारको प्रतिस्पर्धा, आतंक र अमानविय क्रुर व्यवहारका विरुद्ध चितवनका कविहरुले आवाज बुलन्द पारेका छन् । मन्थनको आयोजना, बेटर चितवनको सहआयोजना र डबलीको सहयोगमा भएको फाँसिजमको विरुद्धको कविता वाचन कार्यक्रममा दुई दर्जन कविहरुले शनिबार कविता वाचन गरे । कवि प्रकाश चापागाइँले सुरु गरेको कविता वाचन कवि विजय विश्वकर्माको कविता वाचनमा अन्त्य भएको थियो । कवितामा कविहरुले पछिल्लो समयमा चलेको सिरिया युद्धदेखि डा गोविन्द केसीको आन्दोलन, नेपालको भोकमरी र गरिबीका विषयसम्म उठाएका थिए । कार्यक्रममा पुराना कविहरु एलबी क्षेत्री, राजेन्द्र घायल, सरिता तिवारी, रेशम विरहीदेखि नयाँ कविहरुले पनि फाँसिजमको विरुद्ध कविता सुनाएका थिए ।