काठमाडाैं, साउन १६
संसारभर विभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस आज मनाइँदैछ। नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी साताव्यापी रूपमा मनाइँदैछ।
पछिल्ला वर्षहरूमा नेपालमा हरेक आमालाई आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ।
संसारभर १ देखि ७ अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसको यो वर्षको नारा ‘स्तनपान : जीवनको आधार’ रहेको छ। पहिलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउने विज्ञहरू बताउँछन्।
आमाले जति धेरै पटक शिशुलाई दूध खुवाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ। स्तनपानले शिशुका लागि स्वास्थ्यरक्षाको कामसमेत गर्छ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरूले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन्।
आमाको दूधमा रोगानाशक तत्त्वहरू हुन्छन्। आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्त्व दिन्छ। आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ।
यो तत्त्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ। यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन्।
बाल्यकालमा आमाको दूध पर्याप्त खान नपाएका शिशुरुमा बाल्यकालमा सुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ। उनीहरुमा अपेक्षाकृत बुद्धि विकाससमेत नहुने हुन्छ।
यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई ‘नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस’ जस्तो घातक रोगसमेत हुनसक्छ। त्यसैले छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहारमात्र हैन, यो जीवनरक्षक आहार पनि हो।
स्तनपानसम्बन्धी गलत धारणा
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणा रहेको पाइए पनि यो सत्य भने होइन। आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ।
नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ। शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ।
त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टिसमेत प्राप्त हुन्छ।