चितवन, साउन १०
चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य शहरी क्षेत्रका राजमार्गहरुमा बिहीबारदेखि तीन पाङ्ग्रे सवारीकासाधन नगुडेपछि शहरको भीडभाड निकै कम भएको छ ।
आन्दोलनरत तीनपाङ्गे्र सवारीका मजदुर संगठन र भरतपुर महानगरपालिकाबीच बुधबारराति वार्ता भएर महानगरकै निर्णय मान्ने निर्णय भएसँगै तीनपाङ्ग्रे सवारी मुख्य राजमार्गमा नगुड्ने भएका हुन् । तीन हजारको हाराहारीमा रहेका सवारीहरु मुख्य राजमार्गमा नगुड्दा शहर पनि फराकिलो र व्यवस्थित देखिएको छ । महानगरको मुख्य शहरी क्षेत्रमा १८ वटा स्थानबाट ती सवारीका साधन वारपार गर्ने व्यवस्था मिलाइएको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोक हुँदै पोखरा बसपार्कसम्मको क्षेत्र र बाइपासरोडमा तीन पाङ्ग्रे गुडेका छैनन् । उनीहरु भरतपुरका विभिन्न भित्री मार्गहरु हुँदै मुख्य राजमार्गसम्म यात्रुहरु ओसारपसार गरिरहेका देखिन्छन् ।
ई–रिक्सा चालकहरुले पनि आफूहरुका कारण केही मात्रामा शहर अव्यवस्थित भएको स्वीकार गर्दे भित्री मार्गमा चलाउँदा पनि राम्रै भइरहेको प्रतिक्रिया दिन्छन् । भरतपुर महानगरको यो कदमलाई स्थानीयले स्वागतयोग्य काम भनेका छन् । यसअघि बुधबार दिनभर भएको आन्दोलन र प्रहरीसँगको झडपमा एकजना ई–रिक्सा व्यवसायीलाई गोली लागेको थियो । भरतपुर महानगरले नगरको व्यवस्थापनका लागि एकमहिना अगाडि नै ठेलाहरु मुख्य राजमार्गको दाँयाबाँया राख्न नपाउने व्यवस्था गरेको थियो । अब अन्य सवारीकासाधनको पनि उचित व्यवस्थापन गर्दे जाने महानगरले जनाएको छ । चितवन ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले प्रहरीले अटो रिक्साको व्यवस्थापनलाई अनुगमन गरिरहेको बताए । उनले विभिन्न क्रसिङ प्वाइन्टहरुमा बसेर प्रहरीले निर्णय पालनामा अनुरोध गरिरहेको बताए ।