चितवन, साउन ९–
चितवन प्रहरीले नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराईलगायतका २८ जना मजदुरहरुलाई पक्राउ गरेको छ । आज (बुधबार) भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भएको झडपमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालले केन्द्रीय सदस्य भट्टराईकै नेतृत्वमा आन्दोलन भएकोले उनलाई पक्राउ गरिएको बताए । भट्टराईलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरिएको छ । अटो र इ–रिक्सा मजदुरहरुले भरतपुर महानगरपालिकाले मूख्य राजमार्गमा चल्न नदिने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका थिए । सो क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रहरी बिटमा तोडफोड गर्नुको साथै साथै नजिकै रहेको एउटा मोटरसाईकलमा आगजनि गरेको थिए । प्रदर्शनकारीले कार र म्याजिकमा समेत तोडफोड गरेका थिए । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली समेत चलाएको थियो । गोली लागेर अटो रिक्सा चालक महेन्द्र सुनार घाईते भएका छन् । झडपको क्रममा पाँच जना प्रहरी र अन्य प्रदर्शनकारी समेत घाईते भएका छन् ।
आजको तोडफोड, आगजनिको घटनामा संलग्नहरुलाई खोजी खोजी पक्राउ गर्न थालिएको डिएसपी ढकालले नारायणी अनलाईनलाई बताए । उनले भने–“अहिलेसम्म २८ जना पक्राउ परि सकेका छन्, अनुसन्धान भईरहेको छ, घटनामा संलग्न अन्यको खोजी भईरहेको छ ।”