चितवन,२० जेठ । सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसमा कार्यरत कर्मचारीहरूको लागि “वन डे जव एप्टिच्युट डेभलपमेन्ट एण्ड मोटिभेसनल ट्रेनिङ“ सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाको सभापतित्वमा सम्पन्न सो कौशलता विकास सम्बन्धी एकदिने अभिमूखीकरण तालिममा जब डाईनामिकका डाईरेक्टर प्रयास राजोपाध्याय विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो ।
त्यसैगरी सञ्चालक समितिका कोषाध्यक्ष मधुर नेपाल, क्याम्पस प्रमुख खेमनारायण सापकोटा, कर्मचारी संघका अध्यक्ष पवित्रा ज्ञवाली, प्रकाशचन्द्र पौडेललगायतका अतिथिहरु रहनुभएको थियो । सहायक क्याम्पस प्रमुख टिकाराम देवकोटाले स्वागत गर्नुभएको कौशलता विकास सम्बन्धी तालिममा क्याम्पस प्रमुख खेमनारायण सापकोटाले तालिमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो । प्रमुख सापकोटाले संस्थाभित्र सामाजिक स्वच्छता कायम गर्दै मानसिक रुपमा समेत स्वच्छ बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले मानिस सामाजिक, शारीरिक, मानसिक रुपमा स्वच्छ हुन जरुरी रहेको बताउँदै कार्यक्षेत्रमा आउने समस्या र समाधानका उपाय बारे बोल्नु भएको थियो ।