प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भईरहेको दावी गरेका छन् ।
दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न मंगलबार काठमाडौं आईपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धि आफूले देखेको सपना साकार पारेरै छाड्ने प्रतिवद्धता पनि जनाए ।
‘देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम रोकिदैन,सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था हुन्छ’ प्रधानमन्त्री अोलीले भने–विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लगिन्छ ।’
प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे ।
उनले उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको बताए ।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित दमक–चिसापानी सडकको उचित व्यवस्थापनका लागि थप १ अरव ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ ।
उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो प्रधानमन्त्री ओलीसँग गरेको जानकारी दिए ।