११ मंसिर । वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने नाममा ठगिने युवाको संख्या बढ्दो छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ । ती देशमा आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भएकाले दलालले विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेका हुन् । विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट सहर पस्ने युवा बढी ठगिने गरेको प्रहरीको कारबाही अध्ययनले देखाएको छ । ‘‘गाँउबाट आएका सोझासिधा युवा विदेशमा रुखमा पात फलेझै पैसा सजिलै फल्छ भन्ने भ्रम पालेर आएका हुन्छन्’’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल भन्छन्, “यही भ्रमले उनीहरूलाई ठगिन बाध्य बनाउछ । ऋण गरेर ल्याएको पैसा दलालको हातमा पर्छ । ’’ अपराध महाशाखाका अनुसार, गत वैशाखदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारसम्बन्धी ठगीका करिब ५० वटा घटना दर्ता भएका छन् । तीमध्ये युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाउने नाममा धेरै छन् । ठगिनेहरू पनि विद्यार्थीभन्दा सामान्य मजदुरी काममा जान खोज्ने व्यक्ति धेरै छन् ।
