आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै छ । विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्न सफल नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछन् ।
नेपाली टोली आज साँझ ५ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । नेपाली टोली दुबईको ट्रान्जिट हुँदै स्वदेश फर्कन लागेका हुन् । कुल १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहन सफल भएको थियो । तर, नेपालले आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता पाएको थियो ।
नेपालले आईसीसीबाट सन् २०२२ सम्मको लागि एकदिवसीय मान्यता पाएको हो । यो नेपाली क्रिकेटको २२ वर्षे क्रिकेट यात्रामा सबैभन्दा ठूलो सफलता हो । एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि नेपालले पहिलोपटक एकदिवसीय मान्यता पाएको हो । यस्तै नेपालले प्रतियोगितामा आईसीसीबाट सी ग्रेड प्राप्त गरेको थियो ।