नेपालले २२ वर्षे क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हात पारेको छ। जिम्बाम्बेमा जारी विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
२२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा एक खेल अगावै नेपालले पहिलो पटक वान डे अन्तर्राष्ट्रिय ९ओडिआई० स्ट्याटस पाउने भएको छ।
प्रतियोगिताअन्तर्गत बिहिबार भएको प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले सहज पराजित गरेको थियो।
अर्को प्रतिस्पर्धामा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि एकदिवसीय मान्यताको ढोका खुलेको हो।
क्वालिफायरमा चार टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै कूल १० टिमले प्रतिस्पर्धा गरेका थिए। चार टेष्ट राष्ट्रबाहेक नेदरल्याण्डस र अन्य ३ उत्कृष्ट एसोसिएट राष्ट्रले पनि ओडिआई मान्यता हातपार्ने आइसीसीले जनाएको थियो।
जसअनुसार सुपर सिक्समा पुगेका सक्टल्याण्ड र युएईले यसअघि नै ओडिआई स्ट्याटस रक्षा गरिसकेका छन्।
सुपर सिक्समा पर्न नसकेका तीन एसोसिएट राष्ट्रहरु नेपाल, हङकङ र पपुवा न्यूगिनीमध्ये नेपालले बाजी मारेको हो।
नेपालले अब शनिबार प्रतियोगिताको सातौं स्थानका लागि नेदरल्याण्ड्ससँग खेल्नेछ।
एसोसिएट राष्ट्र भए पनि आइसीसी विश्व क्रिकेट लिगको यो सिजनको च्याम्पियन नेदरल्याण्ड्सलाई यसअघिनै एकदिवसीय मान्यता दिइसकेको छ।
आइसीसीको १२ फुल मेम्बर टिम, १३ औं ओडिआई टिम नेदरल्याण्ड्ससँगै स्कटल्याण्ड, युएई र नेपालले यसपटक आइसीसीको ओडिआई मान्यता पाएका हुन्।
प्लेअफमा पराजित भएको हङकङ र पिएनजीले ओडिआई स्ट्याटस गुमाएको छ। डिभिजन टू मा घटुवा भएका दुबै टिमले अब नवौँ स्थानको लागि प्लेअफ खेल्नेछन्।
यसअघि टी(२० इन्टरनेशनल मान्यतासमेत पाएको नेपालले सन् २०१४ को टी(२० विश्वकप खेलेको थियो। नेपालले सन् १९९६ मा आइसीसीको एसोसिएट राष्ट्रको मान्यता पाएको थियो।