मंसिर ९, २०७३- सरकारी नियम मिचेर भवन निर्माण गरेको भन्दै पोखरा उपमहानगरपालिकाले न्युरोडमा रहेको भाटभटेनी डिपार्टमेन्ट स्टोरबाट बक्यौतासहित करिब ७४ लाख रुपैयाँ जरिवाना असुलेको छ ।
आवश्यक प्रक्रिया नपुर्याई भाटभटेनीले पाँच वर्षदेखि भवन निर्माण गर्दै आएको थियो । नक्सापास तथा घरजग्गा करबापत ५८ लाख, निर्माण सम्पन्नताको प्रमाणपत्र बेलामा नलिँदाको १४ लाख ३० हजार र दुई वर्षको स्वीकृत करबापत १ लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका कर अधिकृत शिवहरि शर्माले नक्सापास नगराई भवन निर्माण गर्नु नियमविपरीत भएकाले जरिवाना गरेको बताए । उपमहानगरपालिकाको भवन नक्सा निर्देशिकामा नक्सापास गरेको दुई वर्षभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्छ । त्यो पनि पूरा नभएर पाँच प्रतिशत जरिवाना तिरेर थप दुई वर्ष म्याद थप्न सकिने निर्देशिकामा छ ।
तर, भाटभटेनीले म्याद नथपी पाँच वर्षसम्म भवन पूरा गरेको छैन । ‘प्रक्रिया पूरा गर्न बारम्बार अनुरोध गर्दा भाटभटेनीले अटेर गरेको थियो,’ अधिकृत शर्माले भने, ‘नियम नमान्दा जरिवानासहित बक्यौता दरकम दाखिला गर्नुपरेको हो ।’ ठूला करदातालाई पनि अब नियम पालनामा रहन उनले आग्रह गरे । उपमहानगरपालिकाले सानालाई कर असुल्ने तर ठूलालाई छुट दिएको अरोप छ ।