म काङसोरे, ‘सिसाम’ !
कैदी भएको छु, इन्द्रको राजधानीमा ।
बषौं भयो, तिम्रो अदालतको हिरासतमा
अन्तिम, फैसला कुरेर बसेको ।
अझै कत्ति बस्नुपर्छ, त्यो त थाहा छैन ?
तिम्रो हिरासतले मेरो ‘आत्मा’मा पूर्पक्षको कागज थमाएपछि ।
साँक्षी, बकपत्र गरौं भनेर,
प्रमाण पुर्जाहरु पेश गरौं भनेर,
दुई सय पचास वर्षपछिपनि, म !
तिम्रो अदालत धाउँदै छु ।
मेरो रगतले सिंचीएको मातृभूमीको टीका लगाएर ।
तिमीले टेकेर हराएको मेरो अनुहार ।
‘लालमोहर’को भूगोलमा खोज्दै छु ?
तिम्रो ‘इन्द्रजाल’को रंगमञ्चमा
मैले जीतेर, धेरै पल्ट हारेको छु ।
बिना हतियार,
बिना शस्त्र–अस्त्र,
तिम्रो अहंमतालाई ‘पाहा’ बनाएर,
अरुणको बगरमा पछारेर ।
कहिल्यैं नहारेको इतिहास उभ्याएको छु ।
सम्झौताको मैदानमा
अचानक, पराजयको तरबार उठायौं र प्रहार ग¥यौं
मेरो पछिल्ल तीरबाट,
षडयन्त्रको शिकार बन्दै ढँले म, काङसोरे ।
‘सिसाम’ अहिले इन्द्रको राजधानीमा छु ।
मैले सुनेको छु ।
म, ढलेको भूमिमा अचेल तिम्रो सामराज्य छ ।
तिमी मेरो ‘बुकी’ फूल्ने फाँटहरुमा ।
अरुण र टिष्टाको छालहरुमा
घुँडेसिमल र फक्ताङलुङको छातीहरुमा
अन्दङ, सेक्मुरी, अम्लारीको जवानीमा
लाली गुराँसको सुदुर भविष्य बेचेर ।
हरदम बलात्कार गरिरहन्छौं ।
प्रसव वेदनामा छटपटाई रहेकी मेरो मातृभूमीलाई
बाडी र पहिरोले घायल बनाईरहेको बेला ।
के लेख्दै छ, तिम्रो अखबारले ?
खुल्ला भूगोलको हिरासतमा म्याद थप गर्दै ।
निर्णय सिन्धुको सुधारगृहमा
राज्यारोहणको निर्णय हुँदै गरेको देशमा
अखबारहरु के गर्दैछन् ?
लोगो, ल्याप्चे र टाँचा लागेका वकिलहरु के गर्दैछन् ?
पत्रकार संचारगृहहरु के निर्णय गर्दैछन् ?
मेरै अघि मेरो आमा बलात्कृत हुँदा,
देश बनाउने भन्दै, मेरो घरबार लथालिङ्ग पार्ने,
जीउँदा मसानघाटको राजधानीमा के हुँदैछ ?
ढिलै, बुझ्छन्, र बुझ्न्, थालेका छन्
मेरा सन्ततिहरुले ? अणुहरुको संयोजन,
जसले हिरोसिमा र नागासाकीको,
सक्कली पहिचानलाई ध्वस्त बनाएको छ ।
अब एक्लो बाघ र चितुवाको गर्जनले बाख्राहरु भाग्दैनन् ।
खुल्ला चरन छोडेर खोरमा बाँस्दैनन् भाले ।
उदाङ्गिएका पहिचान खोज्ने अस्तित्वहरु
बिकसित रक्सीका जवानीहरु
जोड घटाउ इतिहासको हिसाबहरुमा
नाफा र नोक्सानको सिमाना कोर्दैछन् ।
भागबण्डामा निसानी गाड्दैछन् ।
ओ,…..‘निसान बाजे’ तिम्रो झण्डा च्यात्तिएको छैन ।
ताम्रपत्रको भूगोलमा हराएको अनुहार
सबै रङ्गको इन्द्रेणी बिहानी बोकेर
सधैं अध्यारा अनुहारमा उज्यालो छाउन
असली साँक्षीको लालकिल्ला जमाएर
मलाई इन्द्रको हिरासतबाट कैदमुक्त बनाउन
भन,….तिमी कहिले आउँछौं ?
म काङ्सोरे ‘सिसाम’
बर्षौ भयो, तिम्रो अदालतको हिरासतमा
अन्तिम फैसला कुरेर बसेको छु ।
काले दमाईको बकपत्र
म त्यहीँ छु श्रीमान ।
तिम्रो अदालतको फैसाला
न्यायको तुलोमा जोख्दै,
आरनको साँघार नाघ्न नपाएर ।
बन्द हिरासतमा म डुम खेल्दैछु ।
अझै तिमी भाग्दै छौं ।
म छुने प्रयास गर्दैछु ।
सीमानाको कान्ला उभ्याएर ।
चार वर्ण छत्तिस जातको फूलबारीमा
म भ्यागुक्ता उफ्रदै छु ।
कुवा संसारबाट मुक्त हुँन ।
मुलूकी ऐन देखि नेपालको संविधानसम्म ।
म काले दमाई !
अहिलेसम्म त दमाई साँगुमा छु ।
बेहिसाब जीवनलाई तारेर ।
दुई किनारको सम्बन्ध जोडेको छु ।
सुम्निमाको बलेँसी वारी बसेर म !
कृष्णको बाँसुरी धुन, ब्रहम्मा अस्त्रको कालचक्र ।
विष्णुको चट्याङ, महादेवको त्रिशुल कमाएर ।
सिन्धुघाँटीको न्वारान उठाउँदैछु ।
तिम्रो भूराजनीतिको प्रवचन सुन्दै,
पुराणहरुको बेश्या रत्यौंलीमा,
छाउँपडी बसाएर म एक्लै,
नगरकोटीको घाटमाण्डुमा पुगेको छु ।
म काले दमाई !
म के सुन्दैछु ।
मेरो राष्ट्रय फूल लालीगुराँस !
रामायण छोएको निहुँमा जेल परेको सुन्दैछु ।
नुनाम याम माबोहाङ
इलाम