दशैं घुमघामलाई ७ गाडी माग, ५ गाडीमा मन्त्रीको आफन्तको मस्ती !
आश्विन १०,काठमाडौं । सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले दशैँमा घुमघाम गर्नका लागि भन्दै परिवारका सदस्यलाई नेपाल टेलिकमको गाडी दुरुपयोग गराएको खुलाशा भएको छ ।
विगत १२ दिनदेखि मन्त्री बस्नेतको निर्देशनमा ४ वटा गाडी टेलिकमले दिइसकेको छ ।
टेलिकम स्रोतका अनुसार दशैंमा गाडी दिनका लागि मन्त्री बस्नेतले पत्राचार नै गरेका छन् । आज मात्रै पनि मन्त्रीको दबावमा एउटा गाडी झिकाइएको छ । ‘मन्त्री ज्युको आफन्तलाई गाडी चाहिएको भन्ने बुझेपछि हामीले तुरुन्त गाडी पठाएका हौँ,’ टेलिकम स्रोतले भन्यो,‘आज पनि दुई वटा गाडी चाहियो भनेर पत्र आएको छ ।’
स्रोतका अनुसार १० दिन अघि मन्त्री बस्नेतको दबावमा विदुर चाैलागाइले चलाउँदै आएको बा ९ च ५२१३, चालक किरण खड्काले चलाउँदै आएको बा १० च ७१६१, चालक शिव चन्द्र खत्रीले चलाउँदै आएको बा १० च ७१६३, माधव न्यौपानले चलाउँदै आएको बा ६ च ३६३०, नारायण थापाले चलाउँदै आएको बा १० च ३५ नम्बरको गाडी मन्त्री बस्नेतका आफन्तहरुले १० दिन अघि नै बेपत्ता बनाएका छन् ।
टेलिकमको स्वामित्वमा रहेको स्कोरपिओ, ल्याण्ड क्रुजर लगायतका महँगा गाडीमाथि बस्नेतले नजर लगाएपछि टेलिकमका प्रशासन विभागका राजु बाबु अर्याल भने अत्तालिएका छन् । ‘आज फेरी दुई वटा गाडी माग भएर आएको छ । मन्त्री ज्युले पत्राचार गर्ने वित्तिकै गाडी दिनु पर्छ,’ स्रोतले भन्यो,‘मन्त्रीको दबावमा परेपछि कामिनी म्याम समेत समस्यामा हुनुहुन्छ ।’
मन्त्री बस्नेतको दबावका कारण नेपाल टेलिकमकी जिएम कामिनीराज भण्डारी समेत तनावमा आएकी छिन् ।
यद्धपी नेपाल टेलिकमकी जिएम कामिनी राजभण्डारीकी स्वकिय सचिव विष्णु पन्थीले आफूलाई यो विषयमा जानकारी नभएको बताए ।
यस विषयमा मन्त्री बस्नेतसँग प्रतिक्रिया लिनका लागि उनको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । त्यस्तै उनका प्रेस सल्लाहाकार सिबी खड्काले समेत फोन उठाएनन् ।
श्रोतः दियो पोष्ट