गुल्मी । कालीगण्डकी करिडोरमा पर्ने गुल्मी खण्डका गौदीगौमती गंगा र पालुङ खोला, बागलुङको जैमुनी नगरपालिकोको जैमुनीघाट र बेलबगरको चौरी खोलामा चारवटा बेलिब्रिज निर्माण भएपछि आठ घण्टाको यात्रा चार घण्टामा छोट्टिएको छ ।
यी पुल नेपाली सेनाले झण्डै १२ करोडको लागतमा निर्माण भएको जनाएको छ । सुनौली र कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक खुलेलगत्तै बीचमा पर्ने खोलामा पुल निर्माण कार्यलाई तीव्रता दिइएको छ । बागलुङकै बेलबगरको लोहाखोलामा पुल जडान बाँकी भएकाले तत्कालका लागि खोला डाइर्भसन गरेर यातायात संचालन गरिएको छ ।
चिनियाँलाई लुम्बिनी र भारतीयलाई मुक्तिनाथ जान सहज
गुल्मी र बागलुङ खण्डका चार पक्की पुलको निर्माणसँगै कालीगण्डकीको यी क्षेत्रमा नियमित यातायात चल्न थालेको नेपाली सेनाका करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले बताए । सेनाले अप्ठ्यारा भीरका चट्टान फुटाउँदै ५ देखि ८ मिटरसम्मको ट्रयाक खोल्ने काम सकेर पुल निर्माणलाई तीब्र पारेको हो ।
करिडोर निर्माणले चीनलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भारतीयको मुक्तिनाथ धामयात्रा सहज र छोटो बनाउने देखिएको छ । प्राचिन र धार्मिक महत्वसँगै करिडोर निर्माणले तीन अञ्चल र छ जिल्लाका १० लाख ३० हजार सर्वसाधरणलाई सिधा सडक सञ्जालमा पनि जोड्नेछ ।
कालीगण्डकी तटीय क्षेत्र हुँदै निर्माण भइरहेकाले कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले महत्व राख्ने करिडोरका योजनाकार राप्रपा नेता भरतबहादुर चन्दले बताए । बागलुङको जैमुनी नगरपालिकाका उपमेयर लीला रानाले करिडोरको ट्रयाक खुलेपछि भारतबाट आउने बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाहरु सुनौली नारायणघाट पोखरा हुँदै आउने झन्झटको अन्त्य भएको बताए ।