२०७४ साउन ३२ गते,ललितपुरको भैँसेपाटी निवासी सुजन लामाले काठमाण्डौको सडकमा हराएको पाँच लाख रुपैयाँ केही घण्टामै फेला पारेका छन् । सडकमा खसालेको यतिका धेरै पैसा फिर्ता पाएपछि खुशीले गद्गद् भए उनी । राजधानीको व्यस्त सडकमा हराएको पैसा फिर्ता पाएसँगै सुजनले सहरमा हराइनसकेको मानवीय इमान पनि भेटिएको महसुस गरेका छन् ।
लामाले न्युरोडको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम सडकमै खसेको थियो । बीच बाटोमा पुगेर हेर्दा पैसा राखेको व्याग मोटरसाइकलमा नदेखेपछि उनले तत्काल रन्जना टेडर्सका साथीलाई फोन गरे । पैसा बाटोमा खसेकाले पसलमा भेटिने सम्भावना थिएन ।
आफ्नो पसलबाट बाहिरिएको केहीबेरमै पैसा हराएको खबरले दुखी बनेका सुजनका साथी प्रवीनले तुरुन्त न्युरोडमा रहेको महानगरीय प्रहरी वृत्त जनसेवालाई यसबारे जानकारी गराए । प्रहरी खोजतलासमा लाग्दैथियो । सुसंयोगवस सोही समयमा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको ह्युमट महिला समूह (मिसाःपूच) का महिलाहरु बाटोमा हिँड्दै फेला परेको चार लाख लिएर प्रहरी कार्यालय जनसेवामै आइपुगे ।
उनीहरुले त्यहाँका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यलाई पैसाको मुठो बुझाए । प्रहरीले तत्कालै सुजनको पैसा हरायो भनेर उजुरी गर्ने व्यक्ति प्रवीन लामाको सहयोगमा सुजनलाई बोलायो । पैसा खसेको समयमा न्युरोडबाट टेकु जाने सडकमा राखिएको सिसिटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गरेपछि त्यो पैसा लामाकै भएको निष्कर्षमा प्रहरी पुग्यो । त्यसपछि सबै प्रहरीले उनलाई पैसा फिर्ता दियो ।
हराएको रकममध्ये बाँकी एक लाख महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पार्यो । सडकमा छिरलिएको अवस्थामा फेला परेको पैसा ड्युटीमा खटिएका एक ट्राफिक जवानले फेला पारेर जम्मा गरी कार्यालयमा बुझाएका थिए । त्यो पैसा पनि ट्राफिक प्रहरी महाशाखाले हराउने व्यक्ति सुजन लामालाई बोलाएर फिर्ता गर्यो ।
हराउने र पाउने व्यक्तिले तत्काल प्रहरीलाई खबर गर्ने हो भने सडकमा खसेको कुनै पनि अमूल्य वस्तु गुमाउने व्यक्तिले यसरी नै फिर्ता पाउन सक्ने महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी आचार्यले बताए । रासस