२६ श्रावण, व्यवसाय बढी हुने र नाफा पनि धेरै कमाइने लोभमा प्रायः बैंकहरुले राजधानीभित्रै केन्द्रीय कार्यालय राखेर कारोबार गर्ने गरेका छन् । २८ वटै वाणिज्य बैंकहरु राजधानीमा छन् । प्रायः ठूला विकास बैंकहरुको केन्द्रीय कार्यालय पनि राजधानीमै छन् । जसमध्ये, थुप्रै बैंकको सुरुवात पोखराबाट भएको थियो । अझै पनि कतिपय विकास बैंकहरुले पोखराबाटै कारोबार गरेर राजधानीका बैंकहरुलाई टक्कर दिइरहेका छन् । पुँजीवृद्धि, मुनाफा, बोनस वितरण लगायतमा यी बैंकहरु कुनैभन्दा कम छैनन् । निष्कृय कर्जा पनि क्रमशः घटाउँदै लगेर हरेक वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको माछापूछ्रे बैंक लिमिटेड हालै काठमाडौँको लाजिम्पाटमा सरेको छ । यो बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गर्दै यसपालीदेखि अर्वपति क्लबमा प्रवेश गरेको छ । बैंकले ५८ अर्ब ६२ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्तापुँजीमा पनि यो बैंक अब्बल देखिएको छ । असार मसान्तसम्ममा यो बैंकको चुक्तापुँजी छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडाकोषमा दुई अर्ब ५१ करोड ६७ लाख रुपैयाँ रहेको छ । साउन ५ गतेदेखि बैंकले १२ प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी सात अर्ब ३९ करोड रुपैयाँ पुग्नेछ । बैंकको जगेडा कोष र मुनाफालाई हेर्दा यो वर्ष राम्रो बोनस दिन सक्ने देखिन्छ । बैंकको निष्कृय कर्जा पनि शून्य दशमलव ३७ प्रतिशत मात्रै रहेको छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा रहेको छ ।
पोखराले जन्माएको वाणिज्य बैंक एउटा मात्रै भएपनि विकास बैंकहरु थुप्रै छन् । ठूला र विश्वसनीय भनिएका ठूला विकास बैंकहरु पोखराबाटै सुरु भएका छन् । जसमध्ये, कतिपय राजधानीमा सरिसकेका छन् भने कतिपय पोखरामा नै आफ्नो प्रभुत्व जमाएर बसेका छन् ।
पोखराका तीन वित्तीय संस्था कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड एकआपसमा गाभिएर बनेको कैलाश विकास बैंक लिमिटेडको प्रधान कार्यालय पोखराको न्युरोडमा थियो । पछि, यो बैंक राजधानीमा सर्यो । हाल, कैलाशको केन्द्रीय कार्यालय काठमाडौँको न्यूप्लाजामा रहेको छ । गत आर्थिक वर्षमा २२ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंक पुँजीवृद्धिमा पनि अब्बल छ । दुई अर्ब २९ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको बैंकले जगेडाकोषमा ९८ करोड ७३ लाख रुपैयाँ छुटाएको छ । यस आधारमा हेर्दा, यो वर्ष राम्रो मुनाफा दिएर बैंकले अढाई अर्ब पुँजी सजिलै पुर्याउन सक्नेछ । बैंकले असार मसान्तसम्ममा १७ अर्ब १७ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब चार करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा शून्य दशमलव ८८ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यस्तै, पोखराको न्युरोडमा स्थापना भएर हाल काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि विकास बैंकहरुमा अब्बल बनेर देखाएको छ । एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजी पुगिसकेको बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको जगेडा कोषमा ५७ करोड ५८ लाख रुपैयाँ रहेको छ । यसआधारमा हेर्दा, बैंकले बोनस सेयर दिएर सजिलै चुक्तापुँजी पुर्याउन सक्ने देखिन्छ । असार मसान्तसम्ममा सांग्रिलाले १३ अर्ब ८७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ६६ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा शून्य दशमलव ६० प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५३ पैसा रहेको छ ।
धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई गाभेर राष्ट्रिय स्तरमा स्तरोन्नति भएको मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय पोखराको पृथ्वीचोकबाट काठमाडौँको कमलादीमा सरेको छ । अब्बल विकास बैंकहरुमध्येमा गनिएको यो बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ चुक्तापुँजी रहेको मुक्तिनाथको जगेडाकोषमा ७७ करोड ६० लाख रुपैयाँ रहेको छ । मुनाफा र जगेडा कोषलाई हेर्दा यो बैंकलाई पनि अढाइ अर्ब पुँजी पुर्याउन सहज देखिन्छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर दुई अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउँदैछ । बाँकी पुँजी बैंकले बोनस जारी गरेर पुर्याउनेछ । असार मसान्तसम्ममा मुक्तिनाथले १६ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्कृय कर्जा ०.०२ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ११ पैसा रहेको छ ।
पोखराबाट हालै काठमाडौँको लाजिम्पाटमा सरेको गरिमा विकास बैंकले गत आर्थिक वर्षमा ३४ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । दुई अर्ब २० करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ६२ करोड ५५ लाख रुपैयाँ राखेको छ । हालको पुँजीको अवस्था, मुनाफा र जगेडा कोषलाई हेर्दा गरिमा पनि अढाई अर्ब चुक्तापुँजी सजिलै पुर्याउन सक्षम देखिन्छ । असार मसान्तसम्ममा गरिमाले १४ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ९९ करोड आठ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक १५ दशमलव ५५ रुपैयाँ रहेको छ ।
ओम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय भने अझै पनि पोखरामा नै छ । पोखराको चिप्लेढुंगामा रहेका यी दुवै बैंकले राजधानीका बैंक सरह नै प्रगति गरिरहेका छन् ।
मनास्लु विकास बैंकलाई गाभेर गत असार २ गतेदेखि एकीकृत कारोबार थालेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । पोखराको चिप्लेढुंगामा केन्द्रीय कार्यालय रहेको ओमको चुक्तापुँजी एक अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकको अपरिकृष्त वित्तीय बिवरण अनुसार बैंकले सेयरधनिहरुलाई २३.५ प्रतिशत बोनश सेयर बितरण गर्न सक्ने र ३० प्रतिशत हकप्रद बितरणपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । सो अवधिमा बैंकले १६ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब पाँच करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ०.९० प्रतिशत रहेको छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको फेवा विकास बैंक र गण्डकी विकास बैंक एकआपसमा गाभिएर हालै गण्डकी विकास बैंकको नामबाट कारोबार सुरु भएको छ । मर्जरपछि बनेको बैंकको चुक्तपुँजी एक अर्ब ८४ करोड रुपैयाँ पुगिसकेको छ । पुँजीवृद्धिका लागि बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने योजना अघि सारेको छ । असार मसान्तसम्ममा बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।
श्रोत ः बैकिङ्ग खवर