असार १३, २०७४
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा असार १४ गते भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले सबै मतदातालाई निर्धक्क भएर मतदानमा सरिक हुन आग्रह गर्नुभयो । डा यादवले भन्नुभयो, “सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न म यहाँहरूसँग अनुरोध गर्दछु ।” दोस्रो चरणको निर्वाचनका लागि ६२ हजार ४ सय ०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । दोश्रो चरणको निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको आठ हजार ३ सय ६४ मतदान केन्द्रमा गई मतदाताले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्नसक्ने आयोगले जनाएको छ । भोलि हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । निर्वाचनका लागि देशभर चार हजार ५ सय ८१ मतदानस्थलमा आठ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । यसैबीच, निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । कुनै कारणवशः मतदाता परिचयपत्र पाउन नसके वा पाएको परिचयपत्र हराएमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । तर त्यसरी मतदान गर्न फोटोसहितको मतदाता नामावलीमा नाम हुन भने आवश्यक छ । साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई आधार मानी मतदान गर्न दिने व्यवस्था मिलाउन आयोगले सम्बन्धित सबैलाई जानकारी समेत गराएको छ । यस सम्बन्धमा थप बुझ्नु परेमा आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ४८ संस्थाका छ हजार ७ सय ३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न निर्देशन दिइसकिएको आयोगले जनाएको छ ।