असार २, २०७४- परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।
यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमितमा ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।
परीक्षाको नतिजा थाहा पाउन १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय, नेपाल टेलिकमको वेबसाईट लगायतमा नतिजा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
परीक्षामा सामेल भएकामध्ये २ सय १९ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।
विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब ‘सी’ भन्दा कम ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए।
श्रोतः कान्तिपुर दैनिक