चैत ७,काठमाण्डौ
श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । आउँदो वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो ।
यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति राजपक्षले दुई तिहाइ बहुमतले संसद्मा जित्ने अपेक्षा गरेका छन्, जसले उनलाई संविधान परिवर्तन गर्ने अनुमति दिन्छ ।
पछिल्ला केही दिनमा श्रीलङ्कामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको दरमा वृद्धि देखिएको छ । पछिल्लो तीन दिनमा सङ्क्रमितको सङ्ख्या दुई गुणाले बढेको हो । श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररात रहेका खबरमा उल्लेख छ ।
श्रीलङ्काको सरकारी मेडिकल अफिसर्स एसोसिएशनले श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमण इटलीको भन्दा खराब हुनसक्ने चेतावनी दिएका छन् ।