चितवन राष्ट्रिय निकुञ्ज चितवनको शान, नेपालको गौरव मात्र होइन विश्वकै गरिमा हो । यसको काखमा रहेको माडीको त्यसै नै शिर ठाडो हुनेमा सन्देह छैन । तर माडीले गौरव गरेर मात्र पुग्दैन, यसको संरक्षणमा पनि उत्तिकै ध्यान पुर्याउनु पर्छ र पुर्याईरहेको छ । अझ गहिराईबाट बुझ्दा माडी र निकुञ्जबिच नङमासुको सम्बन्ध छ । यस्तो घनिष्ट सम्बन्धमा नङ र मासुका बिच छेस्को गडेको महशुस भयो भने के होला ? आज यहि प्रश्न माडीवासीको मनमा सल्बलाएको भान भईरहेको छ । भारतसँगको सिमारक्षा र उसको निकुञ्जसँग सोझो लिङ्क हुन नदिन बिचमा बर्दिबिहिन तैनाथ सिपाही बनिरहेको माडीले विगतदेखि निकुञ्ज पारीका मानिसहरुबाट हुनेगरेको मनोवैज्ञानिक अपमानको कुनै गुनासो गरेन । निकुञ्जमा रुख काट्न हुदैन भनेपछि माडीले एक इमान्दार आज्ञापालकको रुपमा सडकका बिचबिचमा रहेका रुखहरुमा कैयौंपटक गाडी ठोकेर, घाईते भएरै भएपनि त्यसको पालना गरिरह्यो । करिबकरिब गाडीको चौडाईकै बराबरको बाटोमा मुस्किलले चुपचाप गाडी पास गराईरह्यो । बरु रातभर निकुञ्जको मुखमा उज्यालो कुरेर बसिरह्यो तर साँझदेखि बिहानसम्म जति नै ईमर्जेन्सी भएपनि एम्बुलेन्स बाहेक अरुबाट निकुञ्ज पार नगर भन्यो, गरेन । बिचमा निकुञ्ज परेकै कारणले ०५६ सालमा शुरु भएको विद्युतिकरण दुई दशक अलपत्र पर्दासमेत अँध्यारोमा बसेरै भएपनि निकुञ्जसँगको असल सम्बन्ध निभाईरहेर आज माडी समयभन्दा वर्षौं पछाडि छोडिएको छ । र आज फेरि एक झिल्को उज्यालो आँखामा दिएर झ्याप्प निभाईदिँदा झनै चकमन्न अँध्यारोमा माडी छोडिएपछि सहनुको भाँडो भरिएको बिस्तारै देखिन थालेको छ । र निष्कर्षमा मनले अब खुट्याउन खोजेको छ कि माडी विकासमा निकुञ्ज बाधा हो कि वरदान ?!
२०३२ सालमा स्थापना भएको निकुञ्जले सदियौंदेखि यहाँ बस्दै आएका आदिबासी र आगन्तुक पहाडियाहरुलाई आफ्नो घर जान र आउन हरेकपटक निकुञ्जमा प्रवेशाज्ञा लिदै शुल्क बुझाउनुपर्ने बनायो । लोकतान्त्रिक देशमा अझै पनि उपनिवेशमा चलिरहेको हो यो माडी ? र अर्काेतिर कुराजनिति गर्नेहरुका लागि निकुञ्जले चुनावी नाराका लागि माडीमा धेरै बहानाहरु दिईरहेको छ । एक नेताले यसै बिषयमा बोल्दै एकपटक भनेको सुनेको थिएँ कि तपाईहरु जङ्गल प्रवेशमा पैसा तिर्दैनौं नभन्नुस तर त्यो पैसा बरु माडीकै विकासमा खर्च गर्न पर्छ भन्नुस । झट्ट हेर्दा कुरा ठिकै जस्तोपनि लाग्छ तर माडी विकासकै लागि हो भने किन निकुञ्जमा गएर तिर्ने ?हामीले हरेकपटक त्यो भन्दा बढि पैसा तिर्न तयार छौं, तर माडीभित्रै एउटा जनपोष्ट राखेर तिर्छौं । निकुञ्जमा भलै प्रतिकारमै कुनै जनावरलाई मारियो भने पनि मानिस वर्षौ जेल बस्नुपर्छ तर जनावरले मानिसलाई मार्दा तथा सख्त घाईते बनाउदा झिनो क्षतिपूर्तिमा अवमूल्यन हुन्छ । यसबाट पनि सोच्न बाध्य छ मान्छे कि यहाँ जनवारको भन्दा कम मुल्य छ मानिसहरुको । जहाँ एउटा जनावारलाई बाटो काट्न अप्ठ्यारो हुन्छ भनेर बाटोलाई कच्ची नै रहिरहन दिनुपर्ने तर दिनमा बाटो काट्ने सयौं मान्छेहरुको जिवनको सुरक्षाका विषयमा कुनै व्यवस्था गरिदैन । केहि सोचिदैन । र बिना आधार माडीलाई नगरपालिका घोषणा गरिदिएको छ सरकार । जहाँका नगरबासीहरुलाई निकुञ्जकै कारण बिद्युतजस्तो आधारभुत कुरा नियमित उपयोग गर्न छैन । बिनात्रास जुनसुकै बेला माडीबाट बाहिरिन र भित्रिन छैन । निकुञ्जलाई प्रभाव पार्ने भन्दै यहाँ बन्न लागेका विभिन्न योजनाहरु फर्काईन्छन् । र अलिकति हुनेखानेहरु, नेता बनेकाहरु यहाँका समस्याको बारेमा चिन्तन गर्न भन्दा यो ठाँउ नै छाडेर जाने कुरामा अर्थात आफु मरे जे सुकै होस् भन्नेमा चिन्तन गरिरहेका धेरै हुन थालेका छन् । यसर्थ निकुञ्जले माडीलाई आफु अभिषाप रहेको चिनाउनु निकुञ्जकै लागि पनि बढि हानिकारक छ । र वरदानकै रुपमा एक अर्काका बिच गौरवपुर्ण सम्बन्ध स्थापित गरिरहन अब माडीलाई हरेक समस्याबाट दिर्घकालिन रुपमा मुक्त गराउन सम्बन्धित सबै पक्षबाट रत्तिभर ढिलाई नगरियोस् भन्ने माडीको जोडदार माग रहेको छ र यसका लागि माडी अब चुपचाप सहेर सुतिरहनु पनि हुदैन । निकुञ्जमा ईको बृज बनेर जनावर र मानिस दुबै मैत्री निकुञ्ज बनेको खण्डमा निकुञ्ज माडीको पुर्णत वरदान साबित हुनेछ र त्यस बृज माथिबाट सहज आवतजावत गर्ने अनि पर्यटकहरुबाट निकुञ्ज अवलोकन गर्ने नेपालकै प्रमुख आकर्षक गन्तव्य बन्नेछ । जसबाट नेपालको गौरव मात्र बढ्नेछैन, अर्थतन्त्र पनि बढ्नेछ । यसकारण अब उठौं, जुटौं र लागौं सबैजना यसलाई हामी सबैको वरदान सावित गर्नका लागि ।
आभाष दुवे